जिल्ला स्तरीय कराँते सेमिनार सम्पन्न

297

तिलोत्तमा, ३ असोज । रुपन्देहीको तिलोत्तमा वडा नं. १४ स्थित नमस्ते एकेडेमिमा तीन दिने जिल्ला स्तरीय कराँते सेमिनार तथा नारी आत्मसुरक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेम्बुकाई कराँते डो एशोसिएसन रुपन्देहीको आयोजनामा भएको उक्त कार्यक्रममा एक सय जना विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो । कार्यक्रमको शनिबार समापन गरिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले स्वास्थ्य र आत्मसुरक्षाको लागि पनि खेलकुँद आवश्यक हुने उल्लेख गरे । कराँते जस्ता खेलले खेलाडीको मनोवल बढाउने शरीर स्वस्थ राख्न मद्दत गर्ने उनले बताए । खेल क्षेत्रका विकासको लागि प्रदेश सरकार प्रयासरत रहेको समेत उनले चर्चा गरे ।
कार्यक्रममा नमस्ते एकेडेमिका निर्देशक महेन्द्रराज कंडेल, नेकपा माओवादी केन्द्र तिलोत्तमाका अध्यक्ष लक्ष्मण खनाल, जनमुक्तिका पार्टीका भोमबहादुर बुढा, नेपाल रेम्बोकाई कराँते डो संघका केन्द्रीय अध्यक्ष लामा लागायतले बोल्दै स्वास्थ्य र महिलाको आत्मसुरक्षाका लागि कराँते खेल आवश्यक रहेको चर्चा गरे । कार्यक्रममा खेलाडीहरुले कराँतेका विभिन्न खेल प्रदर्शन गरेका थिए ।
तीन दिने सेमिनारमा नेपाल रेम्बुकाई कराँते डोका केन्द्रीय अध्यक्ष रेशम लामा, कोषाध्यक्ष सुस्मिता गुरुङ, हिरादेवि राई लगायतले खेल प्रशिक्षण दिएका थिए । नेपाल रेम्बुकाई कराँते डो एशोसिएसन रुपन्देहीका अध्यक्ष प्रेम जीएमको अध्यक्षता, उपाध्यक्ष सुवास परियारको स्वागत तथा सचिव युवराज पराजुलीको संचालनमा कार्यक्रम भएको हो ।