लुम्बिनी प्रदेशमा अबका मुख्यमन्त्री सोनाम

296

बुटवल, २७ साउन । सत्ता टिकाउन सांसदलाई विभिन्न प्रलोभन देखाएर अपहरणको शैली अपनाइरहेका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले अन्ततः राजीनामा दिन बाध्य भएका छन् । लामोे राजनीतिक रस्साकसीपछि लुम्बिनी प्रदेशमा सरकार परिवर्तन हुने भएको छ ।
प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै पोखरेलले राजीनामा दिएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।
अब लुम्बिनी प्रदेशका मुख्यमन्त्री विपक्षी गठबन्धनबाट माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव सामना गर्ने वा राजीनामा दिने निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई थियो । बुधबार विहान मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बसेको बैठकले निर्णय गर्ने सबै अधिकार मुख्यमन्त्री पोखरलाई दिने निर्णय गरेको थियो ।
८० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेका छन् । मुख्यमन्त्री पोखरेलाई नेकपा एमालेका ३८ जना सांसदको मात्रै समर्थन रहेको थियो भने विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादीका १८ सभामुख बाहेक, जनता समाजवादी पार्टीका ३ र जनमोर्चाका १ जना सांसद रहेका छन् ।