यस्ता छन् त्रिवेणीदेखि तिलौराकोटसम्मका चरा

138

मनिषा बस्नेत

बुटवल, ८ साउन । वृहत्तर लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी पत्रकार चेतन पन्तले नवलपरासीको त्रिवेणीदेखि कपिलबस्तुको तिलौराकोटसम्म करिव चार सय प्रजातिका चराहरुको वृतचित्र तयार गरी बिहीबार बुटवलबाट सार्वजनिक गरेका छन् ।
नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज ) लुम्बिनी प्रदेशको आयोजनामा वृतचित्र सार्बजनिक गरिएको हो । पत्रकार पन्तको लेखन निर्देशनमा तयार पारिएको त्रिबेणीदेखि तिलौराकोटसम्मका चराहरु नामक वृतचित्रमा करिब चार सय प्रजातीका चराहरुको जीवनी देखाइएको छ ।
लुम्बिनी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै यसक्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउनका लागि बृत्तचित्र उपयोगी रहने अपेक्षा गरिएको छ ।
नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) लुम्बिनी प्रदेशका अध्यक्ष भुवन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन ब्यबसायीहरुले वृत्तचित्र निर्माणले यस क्षेत्रको पर्यटन विकासमा सघाउ पुग्ने विश्वास ब्यक्त गरे ।
पर्यटन ब्यवसायी एवं होटल तथा रेष्टुरण्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले निकै मेहनतकासाथ चराहरुको जीवनी तयारी गरिएको भन्दै प्रशंसा गरे । तर पत्रकार पन्तको मेहनतको कदर गर्ने सरोकारवाला निकाय मौन रहंदा अपेक्षित परिणाम आउनेमा शंका रहेको उनको भनाई थियो ।
कार्यक्रममा पर्यटन ब्यवसायी समुन्द्र जीसी, बुटवल उद्योग बाणिज्य संघका महासचिब बिमलराज भट्टराई, रुपन्देही उद्योग संघ वरिष्ठ उपाध्यक्ष माधव पौडेल, पत्रकार महासंघ रुपन्देहीका निर्बतमान् अध्यक्ष यानेन्द्र जिसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल वृत्तचित्रका लेखक निर्देशक चेतन पन्त लगायतले बोल्दै वृतचित्रले यसक्षेत्रको पर्यटन बिकासमा थप टेवा पुर्याउने विश्वास ब्यक्त गरे ।

पन्तले लकडाउनको समयलाइ सदुपयोग गर्दै नेपाली भाषा र अंग्रेजी भाषामा करिब १७ मिनेटको वृत्तचित्र तयार पारेको बताए । यो वृतचित्र पत्रकार चेतन पन्तको युटुव च्यानलबाट पनि सार्वजनिक गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष मिना ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यस्ता छन् त्रिवेणीदेखि तिलौराकोटसम्मका चरा