बुटवलमा सुत्केरीलाई पोषण सामग्री

88

बुटवल, असार ३० । बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा
सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ । महामारी विरुद्धको
अभियानमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो
राखेको उपमहानगरले सुत्केरीलाई पोषण सामग्री प्रदान गरेको हो ।
सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा
हेरचाह पु¥याउन भन्दै आवश्यक स्वास्थ्य निगरानीसहितको यो कार्यक्रम
सञ्चालन गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।
मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी
विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले
जनस्वास्थ्यका क्षेत्रमा संवेदनशील भएर लागिएको प्रमुख सुवेदीको भनाइ छ ।
बुटवलले मुलुकमै नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी
भेटघाट कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रममा उपप्रमुख
गुमादेवी आचार्य आफै स्वास्थ्यकर्मीहरु लिएर सुत्केरी तथा गर्भवती
महिलाको टोल एवम् पायक पर्ने उपमहानगरकै स्वास्थ्य संस्थामा पुगेर पोषण
सामग्री प्रदान गर्दै आएकी छन् ।
नगरका विपन्न समुदायका सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य सुरक्षाका
जानकारी, ल्याबसहितको निशुल्क स्वास्थ्य चेकजाँच र पोषण सामग्री प्रदान
गरिरहेको उपप्रमुख आचार्यले बताइन ।
बुद्धनगरस्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र सेमलारको स्वास्थ्य
केन्द्रमा हालै संक्षिप्त कार्यक्रमका बीच उपप्रमुख आचार्यले ६० जनालाई
पोषण सामग्री प्रदान गर्दै कार्यक्रमको सुरुआत गरिएको थियो । नगरका
विभिन्न वडामा रहेको उक्त लक्षित समूहका करिब दुई सय ३० जना सुत्केरीलाई
पोषण सामग्री प्रदान गरिने छ ।
महानगरका जनस्वास्थ्य अधिकृत उमा थापाको नेतृत्वमा स्वास्थ्यकर्मीहरु
कल्पना पौडेल भट्टराई, गीतादेवी पाण्डे, पुजन ज्ञवाली र राजेश
गिरीलगायतले स्वास्थ्य चेकजाँच र आवश्यक स्वास्थ्य सल्लाहका लागि
उपप्रमुखसंगै फिल्डमा खटिएका थिए ।
बुटवलले यसअघि लकडाउनको अवधिमा पनि आर्थिक रुपमा विपन्न तथा श्रमिक
परिवारका ८१ जना गर्भवती तथा सुत्केरीको घरमै पुगेर सेवा दिएको थियो ।
गर्भवती र सुत्केरीलाई क्याल्सियम, आइरन, आयुर्वेदिक औषधि, घ्यू, मेथी,
ज्वानो, चामललगायतका पौष्टिक आहार उपलब्ध गराइएको छ । त्यसैगरी
स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच र परामर्शसमेत दिइँदै आएको उपप्रमुख
आचार्यले बताइन् ।
गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यू,
मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन सो
कार्यक्रम सञ्चालन भएको थियो । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई
पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण
बनाउन सहयोगका लागि परामर्शसमेत दिइएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए