केवलानी प्रहरी कार्यालयको स्तरोन्नती गरिने

59

तिलोत्तमा, असार २३ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं. ७ केवलानी स्थित ईलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्न आवश्यक तयारी अघि बढेको छ । नगरपालिकालाई मुख्य कार्यक्षेत्र बनाएर हालको ‘ख’ श्रेणीको ईलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नती गर्न तिलोत्तमा नगरपालिकाले आवश्यक पहल अघि बढाएको हो ।
तिलोत्तमा नगरपालिकामा जनसंख्याको चाप दिनप्रतिदिन बढ्दै गएको र नगरपालिकाको भुगोल पनि ठूलो रहेकोले ईलाका प्रहरी कार्यालयको स्तरोन्नती अपरिहार्य रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रहरी कार्यालयको स्तरोन्नतीको लागि आवश्यक पहल गरिरहँदा बुधबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी मुकुन्दराज आचार्य नेतृत्वको प्रहरी अधिकारीको टोलीले प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेको छ ।
रुपन्देही प्रहरी प्रमुख एसपी मनोजकुमार केसी समेत सहभागी टोलीले प्रहरी कार्यालय परिसरमा पूर्वाधार विस्तारको सम्भावना, भौगोलिक अवस्थितको विषयमा स्थलगत निरीक्षण गर्नुको साथैं जनप्रतिनिधिहरुसँग छलफल गरेको छ ।त्यसक्रममा कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले जनसंख्याको चापको कारण प्रहरी कार्यालयको स्तरोन्नती अपरिहार्य रहेको बताए । यस्तै नेकपा एमालेका नेता यज्ञ गैरे, वडाध्यक्ष दुर्गाप्रसाद पाण्डे, प्रवक्ता सुरेन्द्र श्रीलगायतलेपनि प्रहरी कार्यालय स्तरोन्नतीको आवश्यकता र औचित्यको बारेमा प्रकाश पारे ।
प्रदेश प्रहरी प्रमुख डिआईजी मुकुन्दराज आचार्यले प्रहरी कार्यालयको स्तरोन्नती गरी प्रहरी निरीक्षकको कमाण्डमा जनशक्ति व्यवस्थापन गर्ने आवश्यक आधार पर्याप्त देखिएकोले यस विषयमा माथिल्लो निकायमा जानकारी गराउने बताए ।प्रहरी कार्यालय स्तरोन्नतीको विषयलाई लिएर आवश्यक पहल गर्न नगर प्रमुख बासुदेव घिमिरे काठमाडौं भैरहँदा बुधबार प्रहरी अधिकारीहरुको टोलीले ईलाका प्रहरी कार्यालयको स्थलगत निरीक्षण गरेको हो । जिल्ला सुरक्षा समिति रुपन्देहीको बैठकले स्तरोन्नतीको लागि आवश्यक निर्णय गरी गृह मन्त्रालय पठाइसकेको बताइएको छ ।