बिजयी पत्रकारलाई बुटवलमा सम्मान

53

रुपन्देही, ६ बैशाख । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र प्रदेश अन्तरगतका ११ वटा जिल्ला शाखाका बिजयी पत्रकारलाई सोमबार बुटवलमा बधाई तथा सम्मान कार्यक्रम गरिएको छ ।
गत चैत्र २५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं अविधवेशनबाट निर्वाचित लुम्बिनी प्रदेशका पत्रकारहरुलाई सम्मान गरिएको हो । नेपाल प्रेस युनियन, नेपाल प्रेस संगठन लगायतका संयुक्त गठबन्धनका संघ संस्थाले कार्यक्रम आयोजना गरी बधाई तथा सम्मान कार्यक्रम गरेका हुँन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कांग्रेसका कन्द्रीय सदस्य एव संसदीय दलका प्रमुख सचेतक वालकृण खाँणले बिजयी पत्रकारहरुको जीतले लोकतन्त्रको रक्षा हुने बताए । अग्रगामी शक्ति पक्षधर पत्रकारले बिजय हासिल गरेको भन्दै नेता खाँणले यो बिजयले लोकतन्त्रको बचाउमा मुख्य भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उनले भने, ‘लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एक सिक्काका दुई पाटा हुन्, स्वतन्त्र पत्रकारिताको जीत लोकतन्त्रको रक्षा हो ।’
प्रधानमन्त्री केपी ओली शर्माले बिगतमा प्रतिनिधिसभा बिघटन गरेको प्रसंग उधृत गर्दै नेता खाँणले नेपाली पत्रकारिता जगतले खबरदारी नगरेको भए प्रतिनिधि सभा पुनःस्थापना नहुने अवस्था देखिएको थियो भने । पटक–पटक संविधानमाथि प्रहार गरेर प्रधानमन्त्री ओलीले ब्यक्तिबादी र सर्वसत्ताबादी साशन लाद्ने प्रयास गरेको आरोप लगाउदै उनले जनताले एक दिन मनाउने गाईजात्रा सरकारले दिनहुँ मनाईरहेको टिप्पणी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य वर्षमान पुन अनन्तले मिडियाको दवावले नै प्रतिनिधि सभा पुनःस्थापना भएको भन्दै लोकतन्त्रको रक्षामा पनि पत्रकारिता क्षेत्रले नै अगुवाई गर्नुपर्ने उल्लेख गरे । पत्रकारले निर्भिक रुपमा कलम चलाएकै कारण प्रतिनिधि सभा पुनःस्थापना भएको स्मरण गर्दै नेता पुनले पत्रकारिता क्षेत्र कमजोर भए लोकतन्त्र पनि संकटमा पर्ने उल्लेख गरे । लोकतन्त्र पक्षधरहरु सधै एकताबद्ध हुनुपर्ने बताउँदै उनले पत्रकार महासंघमा पनि प्रतिगमन बिरोधी शक्तिको जीत हुनु स्वभाविक भएको तर्क गरे । नेकपा वाओवादी केन्द्रकै नेता ओनसरी घर्तीले पनि पत्रकारिता क्षेत्र बलियो भए देशमा सशासन कामय हुने विचार ब्यक्त गरे ।
कार्यक्रममा पत्रकार नेताहरु बालकृष्ण चापागाई, बिनोद पहाडी, बसन्त गिरी, मानसिंङ बिक, रामराज पोखरेल लगायतले बोल्दै महासंघको निर्वाचनमा अग्रगमनकारी शक्तिको जीत भएको चर्चा गरे ।