निलम्बित वडाअध्यक्ष पुनसहित एमाले नेता राना जुवाखालबाट पक्राउ

802

भुवन कार्की
बुटवल, १ बैशाख । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङ्गढीका निलम्बित वडाअध्यक्ष देवेन्द्र पुन जुवा खालबाट पक्राउ परेका छन् । उनी नेपाली काँग्रेसका स्थानीय नेता हुन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगदसहित पक्राउ गरेर निलम्बित अवस्थामा रहेका पुनलाई रुपन्देहीको सालझण्डीबाट मंगलबार बेलुका प्रहरीले पक्राउ गरको हो ।
जुवा (तास) खालबाट सोही गाउँपालिका वडा नं. ८ सत्यवतीका एमाले नेता (रामबहादुर भनिने) रेमबहादुर राना पनि पक्राउ परेका छन् । उनी नेकपा एमाले सत्यवती गाउँकमिटि अध्यक्ष हुन् । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालको नेतृत्वमा गएको टोलीले स्थानीय गाहा होटलबाट पुन र रानासहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । पक्राउ पर्नेमा सालझण्डीका केही ब्यापारी समेत रहेको जनाइएको छ । जुवाडेको साथबाट १६ हजार २ सय ४५ रुपैयाँ नगद रकम बरामद गरिएको पनि प्रहरीले जनाएको छ । निलम्बित वडाअध्यक्ष एवं कांग्रेस नेता पुन र एमाले नेता राना जुवा खेल्न धेरैजसो सालझण्डी झर्ने गरेको स्थानीय बताउँछन् । यसअघि पनि पटक—पटक जुवा खालबाट समातिएका पुन भनसुनको आधारमा छुट्ने गरेका थिए । पक्राउ परेकाहरुलाई कानुन बमोजिम मुद्दा चलाइने प्रहरीले बताएको छ ।