कृते गरेर नागरिता बनाउनेलाई कारवाहीमा ढिला किन ?

248

प्रहरी प्रशासनकै भूमिका शंकास्पद
भुवन कार्की
पाल्पाको रामपुर नगरपालिका वडा नंं १४ निवासी वर्ष ४८ का पिताम्बर अधिकारी लामो समय भारतमा बसे । करिब १९ वर्ष भारतमा बसेर घर फर्किदा उनका दाजुभाई तथा छरछिमेकी अचम्ममा परे । दाजुभाईलाई लागेको थियो अब पिताम्बर घर फर्कन्न, सायद उतै मर्यो । तर लामो समयपछि घर फर्केका पिताम्बरलाई अशंबण्डा गर्नुपर्ने जिम्मेवारी दाजुभाईमा आयो । पिताम्बरले नेपाल आउँदा—जाँदा भारतमा संगै बस्ने छिमेकी बाग्लुङको जिल्ला गलकोट नगरपालिका वडा नंं. ८ पचुवा काडेवास निवासी स्वः मानबहादुर कंडेल क्षेत्रीका छोरा धनबहादुर कंडेल (हाल २२ वर्षका) लाई पनि लिएर आउँथे । भारतमा बिहे गरेर बसेको भएपनि सन्तान भइनसकेका पिताम्बरले धनबहादुरलाई आफ्नो धर्मपुत्रको रुपमा परिचय गराउँथे ।
तर धनबहादुर र पिताम्बरको सम्बन्धमा खटपट आउन थालेपछि धनबहादुर लामो समय पिताम्बरका भाई कृष्णप्रसाद अधिकारीको घरमा बसे । त्यसैबेला कृष्णप्रसादले धनबहादुरलाई आफै सनाखत गरी जिल्ला प्रशासन कार्यालयबाट नागरिता बनाइदिए । तत्कालिन गाविस कार्यालयबाट कागजात मिलाएर उनले बंसजकै नागरिता बनाईदिए । वि.सं. २०७२ साल पुसमा नागरिता बनाउन सफल भएपछि कृष्णप्रसादको योजनामा धनबहादुर कंडेलले पिताम्बर अधिकारीको छोरो (बिजय अधिकारी) भएको र अंश नपाएको भनी अदालतमा अंश मुुद्दा हाले । धनबहादुरले प्राप्त गर्ने अंश (सम्पत्ती) बाँडेर लिने उनीहरुको योजना बन्यो । अंश मुद्दा हालेको चालै नपाएका पिताम्बरले एक्कासी फैसला आएपछि जानकारी पाए । अदालती प्रक्रियमा कृष्णप्रसादकै जालझेल भयो ।
अदालतको फैसलापछि अंश मुद्दाबारे चाल पाएका पिताम्बरले गत पुस महिनामा आफूबिरुद्ध जालझेल गरिएको र धनबहादुर आफ्नो छोरो नभएको भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पामा उजुरी हाले । धनबहादुरले बनाएको नागरिताबारे छानबिन गर्न उनले उजुरी हाले । जिल्ला प्रशासन कार्यालय पाल्पाले नागरिताबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय पाल्पालाई पत्राचार गरेपछि कृते गरेर कागजात तयार गरी नागरिता बनाउने धनबहादुर र उनीसंग सम्बन्धीत ब्यक्तिहरुलाई प्रहरीले अनुसन्धान थाल्यो ।
यो घटना विभिन्न मिडियामार्फत सार्वजनिक भयो । बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ८ पचुवा काडेवास निवासी धनबहादुर कंडेलको घरमै पुगेर अडियोभिडियोसहित मिडियामा खबर सार्वजनिक भयो । धनबहादुरका दाजुहरु हिरा कंडेल र सन्तोष कंडेलले धनबहादुर आफ्नो भाई भएपनि गल्कोटबाट आफूलाई नागरिता बनाउन आवश्यक नहुने, अन्तैबाट नागरिता बनाईसकेको भनि प्रतिक्रिया दिएको बताए (जुन भिडियो सुरक्षित छ) । धनबहादुरका गाउँले आफन्तले मात्र होइन गल्कोट वडा नं. ८ पचुवाका वडा अध्यक्ष रामबहादुर कंडेलले पनि धनबहादुर आफ्नो वडाबासी भएको पुष्टि गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराईले यो घटनाको अनुसन्धान गरेका छन् । गल्कोटबाट धनबहादुरका दाजुभाई बोलाएर छलफल अध्ययन गरेका छन् । धनबहादुरका आफन्तका फेसबुक स्टाटस र फोटा समेत संकलन गरेर उनले अनुसन्धान गरेका हुन् । तर यसको निष्कर्ष दिन उनी किन ढिलाई गरेका छन् यो साेंचनीय बिषय बनेको छ । प्रहरीले तथ्य फेला पारिसकेको छ । घटनाको चार महिनासम्म अध्ययन गरेका एसपी सन्तोष भट्टराईले किन जिल्ला प्रशासन कार्यालयलाई निष्कर्ष पेश गर्न सकेका छैनन् ? अनुसन्धान पुरा नभएकोले ढिलाई गरेको भन्ने उनको भनाईमा दम देखिदैन । पहिलेको जस्तो सक्रियता पनि उनमा देखिंदैन । भन्न त उनले धनबहादुरकी आमा बिरामी भएकी र उनलाई ल्याउने प्रयास गरेको, उनको भनाई बुझ्न चाहेको प्रतिक्रिया दिएका छन् । तर धनबहादुरकी दाजुभाई र आमा कृष्णप्रसाद आफ्नै योजनामा सेट भइसकेका छन् । घर पुग्दा मिडियाको अगाडि यथार्थ बोलेका धनबहादुरका दाजुभाईले बोली फेरेका छन् । आफ्नो भाई सम्पर्कबिहीन भएको, अहिले भेटे पनि हामी चिन्दौनौ भनेर उनीहरुले बहाना गरिरहेका छन् । धनबहादुरकी आमाले पनि यो भन्दा फरक भन्नेवाला छैनिन् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
नागरिता काण्डले आफूपनि फस्ने देखेपछि कृष्णप्रसादले रामपुरका आफन्ती काँग्रेस नेता देवराज ढकालको शक्ति प्रयोग गरी अबरोध गरिरहेका छन् । १५ दिन अघिसम्म जिल्ला प्रशासन कार्यालय पाल्पामा रहेका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने र प्रहरी प्रशासनलाई अल्मल्याउने कृष्णप्रसादकै राजनीतिक शक्ति हो । तर यो घटना सधैका लागि लुकाउन सक्ने कसैको तागत भने छैन । प्रहरी प्रशासनलाई केहीबेर अल्झाउने कोशिस मात्र हो । प्रहरीकै भनाई अनुसार नागरिता अनुसुचिमा पिताम्बर अधिकारीकै सहीछाप छ, सनाखत कृष्णप्रसादले गरेका छन् । यदि यो घटनामा दुबै पक्षका ब्यक्तिको दोष देखिन्छ भने किन दुबै पक्षलाई खोरमा हालेर अनुसन्धान गर्न नसकेको ? आम मानिसले बुझ्ने गरी घटना सार्वजनिक भइसकेको छ, स्वम कृष्णप्रसादले पनि स्वीकार गरेका छन् कि छोरो अर्र्र्कैको हो भनेर । नक्कली छोरोलाई अंश मुद्दा समेत जिताएर सम्पत्ति हडप्न खोज्ने प्रयास विफल भएपछि अहिले केही आपसी सहमतिमा घटना मिलाउँ भन्ने प्रस्ताव कृष्णप्रसादले पिताम्बरलाई गरिरहेका छन् । यो घटना मिलाउन पिताम्बरलाई १० लाख माग गर्ने पनि उनकै आफन्त छन् ।
यो घटना कुनै हातलमा पनि लुकाएर लुक्न सक्ने विषय होइन्, केही बिलम्व गर्न सकिएला । अन्ततः डीएनए परीक्षणबाट पनि यसको टुंगो लाग्ने छ । जहाँसम्म प्रहरी प्रशासनलाई समेत दबाव सृजना गरेर बिलम्ब गर्ने प्रयास गरिएको छ, यो निन्दनीय छ । घटनाको यथार्थ विवरण सार्वजनिक गर्न सम्बन्धीत निकायले ढिलाई नगरोस् । न्याय मर्न दिनुहुँदैन । हालै मात्र सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले घटनाको पुरा अध्ययन गर्न बाँकी रहेको बताएका छन् । आशा गरौं प्रमुख जिल्ला अधिकारी पाण्डेले यसलाई टुंगोमा पुर्याउने छन् ।

यो पनि पढ्नुहोस्

सम्पति हड्प्न नक्कली छोरोले बनाए पाल्पाबाट नागरिता