परिवर्तन उल्ट्याउने षड्यन्त्र भयो : प्रचण्ड

209

बुटवल, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । सर्वोच्चको पछिल्लो फैसलाले देशको राजनीतिक परिस्थिति जटिल अवस्थामा रहेको टिप्पणी गर्दै उनले संविधान रक्षा गर्ने कि हत्या गर्ने भन्ने ठूलो वहस शुरु भएको बताए । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेर पुनःस्थापापित गरेपनि प्रतिगामी षड्यन्त्र जारी रहेको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्ट्याउने षडयन्त्र भइरहेको बताएका छन् । गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी मन नपराउने देशभित्रका प्रतिक्रियावादीहरु र देशबाहिरका दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु मिलेर परिवर्तन उल्ट्याउन खोजेको उनले बताए ।

शुक्रबार राष्ट्रिय दलित पत्रकार संघको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन त्यसमा भूमिका खेल्ने नेताहरुलाई बद्नाम गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको उनले बताए । १२बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको भन्दै उनले भने, ‘म अहिले जीवितै छु र अहिले यो परिवर्तन उल्ट्याउन सबैभन्दा घेराबन्दी ममाथि भइरहेको महसुस गर्छु ।’

संसद विघटन, जनताको सार्वभौम अधिकार उल्ट्याउने षडयन्त्र भएकाले त्यसविरुद्ध आफूहरु लडेको र सर्वोच्च अदालतले पनि संसद पुनस्र्थापनाको पक्षमा फैसला गरेको बताए ।
तर प्रतिक्रिवादी षडयन्त्र नरोकिएको र अनौठा–अनौठा परिघटना देख्नु परेको उनले बताए । नेकपाको नाम विवादमा सर्वोच्च अदालतले गरेको फैसलातर्फ संकेत गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘म कसैलाई गाली गर्न गइरहेको छैन, तर एउटा गम्भीर प्रश्न खडा भएको छ । जन्माइसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने अनौठो र अस्वाभाविक परिघटना देख्नु परेको छ । त्यस्तो हुन्छ ?’
उनले अघि भने, ‘हुनै नसक्ने कुरा हुन थालेको छ भने केही अनिष्ट हुँदैछ कि देशमा भन्ने संकेत होइन र यो ? हेर्दै जाउँ, अझ केके अस्वाभाविक परिघटना देख्नुपर्ने हो ।’
संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस भइरहेको भन्दै उनले आन्दोलनको आँधीबेहरी सृजना गर्ने दिन आउन सक्ने बताए । उनले अघि भने, ‘प्राप्त उपलब्धीको हत्या गर्ने र एक खालको निरंकुशतातिर लैजाने भयो भने मान्य हुने छैन ।’

यद्यपि फेरि विद्रोह गर्ने वा हिंसामा जाने नभई शान्तिपूर्ण संघर्ष गर्ने उनले प्रष्ट पारेका छन् ।
देशलाई प्रतिगमन, र अराजकतातिर लैजान खोज्नेलाई परास्त गरिने प्रचण्डको दावी छ । दलित समुदायको साथ र समर्थनले जनयुद्ध सफल भएको हुंदा दलितप्रति ऋणी रहेको बताउंदै उनले पार्टी पदाधिकारीमा दलितको उपस्थितिमा गुणात्मक रुपमा बृद्धि गरिने प्रचण्डले बताए ।
प्रचण्डले जनमत निर्माणमा पत्रकारको भूमिका निर्णयक हुने बताएका छन् ।
शुक्रबार नै पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका छन् ।

संसद विघटनपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए । तर सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपालहरु एमालेमा छन् भने प्रचण्डहरु माओवादी केन्द्रमा ।

तर माधव नेपालहरु अहिले पनि कम्युनिस्ट एकताका लागि पहल गर्नुपर्छ भन्नेमा रहेका प्रचण्डले बताए । शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमालेका नेताहरुलाई पार्टीमा तानेर ल्याइहाल्ने हतार नगर्न निर्देशन दिए । यसमा केन्द्रमा पिन्च पर्न सक्ने भन्दै उनले भने, ‘फेरि एकतातिर लैजानुपर्छ भन्ने भएकाले पूर्व एमालेका जिम्मेवार कमरेडहरु फर्किएर एमालेमा जान्नौं भन्नुभयो भने हेडक्वाटरसँग सल्लाह गरेर मात्र टुंग्याउनुहोला ।’

उनले एमाले यही स्थितिमा रहन नसक्ने दाबीसमेत गरे । ‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ’–माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ ।’

माधव नेपालहरुले एमालेबाट विद्रोह गरे मिलेर आन्दोलनकारी शक्ति बनाउने उनले बताए ।
यद्यपि अहिले आफूहरुको जोड पार्टीलाई संगठित गर्ने र आफ्नै खुट्टामा उभिने भनेको उनले बताए । त्यसका लागि अब आफू पनि काठमाडौंमा कम बस्ने, जिल्ला–जिल्लामा जाने उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघि भने, ‘दुई–तीन वर्ष दुःख गर्ने हो भने एक नम्बर पार्टी बन्नसक्छ, त्यो तागत अझै हामीसँग छ ।’

प्रधानमन्त्री ओली प्रेस स्वतन्त्रता विरोधी : खांण
नेपाली कांग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांणले प्रधानमन्त्री केपी शर्मा ओली प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन् । प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारले मिडिया काउन्सील र सूचना प्रविधि विधेयक ल्याएको स्मरण गर्दै नेपाली कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएको बताए । सरकार मानव अधिकारको सवालमा पनि विरोधी रहेको भन्दै खांणले संवैधानिक आयोगमा अध्यादेशमार्फत गरिएको नियुक्तिले ओली सरकार संविधानप्रति पनि असहिष्णु छ भन्ने पुष्टी भएको बताए । उनले संविधान च्यात्न खोज्ने आफै समाप्त हुने बताए । खांणले सरकारलाई नक्कली मयूरको संज्ञा दिए । सरकारले संविमानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोेविन्द खनालले दलित समुदाय राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले विभेदमा परेकाले उनीहरुलाई न्याय र अधिकार दिन राज्यले कन्जुस्याई गर्न नहुने आग्रह गरे ।
संघका अध्यक्ष विनोद पहाडीले राज्यका हरेक निकायमा समावेशिताको मुद्दा संकटमा परेको, सञ्चार सम्बन्धी सरकारी निकायमा दलित पत्रकारको उपस्थिति नाजुक रहेको उल्लेख गर्दै नीतिगत तहमा उपस्थिति बढाउन दलित पत्रकार संगठित हुनुपर्नेमा जोड दिए । अध्यक्ष पहाडीले संघले दलित पत्रकारको क्षमता बृद्धि र उपचारमा सहयोगका लागि एककरोड बढीको अक्षयकोष स्थापना गर्ने तयारी भइरहेको बताए ।

उद्घाटन समारोहमा जनता समाजवादी पार्टीकी नेतृ दुर्गा सोंब, अग्रज पत्रकार बालकृष्ण चापागाई,पत्रकार महासंघका केन्द्रीय सचिव रेम विश्वकर्मा,लुम्बिनी प्रदेश उपाध्यक्ष भरत केसी,राष्ट्रिय दलित पत्रकार संघकी उपाध्यक्ष कमला रसाइली लगायतले आफ्ना धारणा राखेका थिए ।

महाधिवेशन उद्घाटनका अवसरमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कलेन्द्र सेजुवाल र बृजलाल पासवानलाई संयुक्तरुपमा प्रदान गरिएको छ । पुरस्कारको राशी ५० हजार रहेको छ । यस्तै देवव्रत परियार स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार रुपन्देहीकी मिना ढकाललाई प्रदान गरिएको छ । परशु सवरी पत्रकारिता पुरस्कार रोल्पाका मानसिंह विश्वकर्मालाई प्रदान गरिएको छ ।
महाधिवेशनमा देशभरबाट करिव ४ सय पत्रकारहरुको सहभागिता रहेको छ । महाधिवेशनमा ‘आमसञ्चार र समावेशिताको सवाल’,‘मिडियामा महिला र दलित महिला’ र ‘दलित आन्दोलन युवा र आम सञ्चार’ बिषयमा छुटाछुट्टै कार्यशाला गोष्ठि हुने संघका अध्यक्ष विनोद पहाडीले बताए । उक्त कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल, विष्णु निष्ठुरी, प्रेस काउन्सीलका निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार निर्मला शर्मा, महिला नेतृ दुर्गा सोब लगायतका वक्ताको प्रस्तुति रहने पहाडीले बताए ।
यसैबीच शुक्रबारै बुटवलमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नै पार्टीलाई मजबुद बनाएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन् । अन्य पार्टीसंग सहकार्य गर्दा विभिन्न धेरै ठाउँमा धोखा र छलकपट भएको भन्दै अब आफ्नै खुट्टामा उभिएर बजबुद्ध बन्नुपर्ने औंल्याए ।
कार्यकर्ता माझ निकै उत्साहित भएर प्रस्तुत हुनुभएका प्रचण्डले भने, ‘अब बाटो सफा भएको छ, अबको यात्रा कुशलतापूर्वक गर्नेछौं ।’ सर्वोच्च अदालतले नेकपालाई एमाले र माओवादी केन्द्रमा विभाजन गरिदिएकाले अब पार्टीलाई थप मजबुद बनाएर अघि बढाईने प्रचण्डले उल्लेख गरे ।