डा. हर्षबहादुर बुडामगरको अर्धकद शालिक अनावरण

119

 

बुटवल, १३ फागुन । नेपालमै लाहुरे जीवनमा पहिलो बिद्याबारिधि गरेको डा. हर्षबहादुर बुडामगरको कपिलबस्तुको कपिलधाम परिषरमा अर्धकद शालिकको अनावरण गरिएको छ ।
दशौं स्मृति दिवसको अवसरमा साहित्य तीर्थ, कपिलधाम परिसर वाणगंगा नगरपालिका–९ कपिलवस्तुमा डा. हर्षबहादुरको अर्धकद शालिक अनावरण गरिएको हो ।
कपिलधाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट मान्यता प्राप्त तथा ख्याति कमाएका सष्ट्राहरुको अर्धकदको शालिक राख्न शुरु गरिएको छ । लाहुरे जीवनमै शिक्षा, समाजसेवा तथा साहित्यमा निकै रुचि राख्दै लाहुरे जीवनमै बिद्याबारिधि गरेका उनको राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा जेठो ज्वाई दिपक बोहराले अनावरण गरेका हुन् ।
डा. हर्षबहादुर बुडामगर स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रम उनको व्यक्तित्व–कृतित्व चर्चा–परिचर्चा समेत गरिएको थियो ।
शालिक अनावरण पछि बोल्दै पूर्वमन्त्री बोहराले डा. हर्षबहादुर बुडामगरले गरेका प्रयासहरु सराहनीय रहेको उल्लेख गरे। उनले लाहुरे भएर पनि विद्यावारिधी गर्नु उदाहरणीय भएको बताउदै यसले समाजमा छुट्टै सन्देश दिएको बताए । उनले जागिरे जीवनपश्चात मान्छेले आरामको जीवन बिताउन खोजे पनि डा. हर्षबहादुर भने निरन्तर काममा लागेको बताए ।
कार्यक्रममा पूर्व गृहमन्त्री निरञ्जन थापा, प्राज्ञ बुद राना, साहित्कार विजय गोविन्द श्रेगठ, समालोचक तथा शिक्षाविद् बालकृष्ण भट्टराई, प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ उन्नति बोहरा शिला, सस्थाका सदस्य–सचिव दिनेश लम्साल, साहित्यकार ऋषि आजाद लगायतले डा. हर्षबहादुर बुडामगरको योगदानको बारेमा चर्चा गर्दै समाज रुपान्त्रणका लागि यस्ता व्यक्तिको खाचो रहेको उल्लेख गरे ।
को हुन् हर्षबुढा मगर
वि.सं. १९८४ कार्तिक ३ गते बाग्लुङको गलकोट, कौलेनीमा पिता. भक्तबहादुर बुडामगर र माता देवकला बुडामगरको कोखबाट जन्मेका हुन हर्षबहादुर बुढामगर। उनले जीवनका बिभिन्न कालखण्डमा विभिन्न विभूषण÷पदक तथा पुरस्कार पाएका थिए।
डा. हर्षबहादुर बुडामगरले १९५८ मा बोर्ड अफ हाई स्कूल एण्ड इन्टरमिडियट एजुकेशन, उत्तरप्रदेश, भारत, बैचलर अफ् आर्ट्स–१९६४ आगरा विश्वविद्यालय, भारत, त्रिभुवन विश्वविद्यालयबाट १९६७ ई.मा राजनीतिशास्त्रमा स्नातकोत्तर र पटना विश्वविद्यालयबाट १९९० ई. मा राजनीतिशास्त्रमा विद्यावारिधी (पी.एच.डी) गरेका थिए।
उनले महेन्द्र विद्याभूषण ‘क’ श्रेणी, प्रबलगोर्खा दक्षिणबाहु, श्री ५ वीरेन्द्रबाट ‘नगद पुरस्कार, २०२९ र कदर–पत्र २०३१, श्री ५ वीरेन्द्र राज्याभिषेक पदक, श्री ५ वीरेन्द्र रजत महोत्सव पदक, श्री ५ वीरेन्द्र एैश्वर्य सेवापदक, २०५८, नेपाल स्काउट स्वर्ण जयन्ती पदक, २०५९ र अन्तर्राष्ट्रिय युद्धतारा पदक गरी आठ वटा विभिन्न पदकहरु पाएका थिए।
डा. हर्षबहादुर बुडामगर द्धितीय विश्व–युद्धमा सहभागिता (१९४३ ईं) बर्मा फ्रन्ट, दक्षिण पूर्वी एसियामा शान्ति कायम गर्ने कार्यमा संलग्न (१९४८–४९ ई.), जम्मु कास्मिर युद्ध क्षेत्रमा संलग्नता (१९४८–४९ ई.) र मलायनइमर्जेन्सी (१९५४–५६) मा युद्ध सेवा गरेका थिए।
त्यस्तै मास्टर मित्रसेन थापा स्मृति पुरस्कार, २०५४ र अनुसन्धान पुरस्कार २०५५ नेपाल मगर संघ काठमाडौं, गोपाल पाण्डे असीम पुरस्कार, २०५९, भद्रकुमारी घले व्यक्तित्व पुरस्कार रु. १ लाख पाएका थिए। त्यस्तै उनले जनमक्ति सेना कल्याण संघ २००७ काठमाण्डौंद्वारा प्रदान गरिएको सम्मानपत्र २०५४, पक्लिहवा माध्यमिक विद्यालय भैरहवा अभिनन्दनपत्र–२०५६, ब्रिटिश गोर्खा अध्ययन तथा अनुसन्धान केन्द्र नेपाल सम्मानपत्र–२०५९, रत्न श्रेष्ठ पुरस्कार गुठी धवलागिरी अञ्चल, बाग्लुङ अभिनन्दन, २०६४ लगायत धेरै पुरस्कार पाएका छन्।
डा. हर्षबहादुर बुडामागर डा. के.आई. सिंहको संक्षिप्त जीवनी (खण्डकाव्य २०१४), किरातवशं र मगरहरु एक ऐतिहासिक सर्वेक्षण (२०४९), मगर व्याकरणको पारुप (२०५०), मगर–रोमन–नेपाली–लिम्बू–अंग्रेजी संक्षिप्तशब्दकोष (२०५०), जसका ठाडा जुँगाकहिल्यै झुक्न जान्दैनन् (रचना संग्रह) २०५०, अतृत्प जिन्दगीका असीमित चाहना (उपन्यास), २०५३ , मगर र मग्यार ः पुख्र्यौलीको खोजीमा (२०५३) लगायत दर्जनौ कृति प्रकाशित छन्।
डा. हर्षबहादुर बुडामगर द्वितीय विश्वयुद्धको दौरान वर्मा फ्रन्टमा सैनिक रुपमा भाग लिएर स्वदेश फर्कि २०१४ सालदेखि अध्यापन सेवामा संलग्न थिए। २०१४ साल देखि ६ वर्षसम्म (१९६७–७२ ई.) सिद्धार्थ कलेज भैरहवा क्याम्पसको संस्थापक प्रिन्सिपल भई शैक्षिक सेवा, समाजसेवीको रुपमा बालहितका क्षेत्रमा १२ वर्षसम्म नेपाल बाल संगठनको केन्द्रीय सदस्य, नेपाल स्काउटको राष्ट्रिय सचिव (१९७८–७९ ईं), नेपाल भूतपूर्व संगठन केन्द्रीय सचिव (१९८३–१९८८), लुम्बिनी अञ्चल खेलकुद परिषद्मा सदस्य सचिव लगायत संस्थामा आबद्ध रहेर काम गरेका छन्। उनी पक्लिहवा माध्यमिक विद्यालय र भैरहवा बहुमुखी क्याम्पसका संस्थापक समेत हुन्। उनको वि.सं. २०६७ माघ १४ गते, काठमाण्डौंमा निधन भएको थियो।
उनले गरेका कामलाई जर्गेना तथा जनता माझ लैजान उनको नामको प्रतिष्ठान डा.हर्षबहादुर बुडामगर स्मृति प्रतिष्ठान २०७१ उनकै जेठी छोरी प्राज्ञ गितकार तथा साहित्यकार उन्नति बोहरा शिलाको अध्यक्षतामा स्थापना भएको छ। हाल अर्थकदको शालिक अनावरण यसै प्रतिष्ठानले गरेको हो।
के हो कपिलधाम
कपिल आरोग्यमन्दिर कपिलधाम कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ मा अवस्थित छ।
धार्मिक तथा साहित्यीक पर्यटन प्रबद्धन गर्ने उद्धेश्यले स्थापना गरिएको कपिलधामका अध्यक्ष शंकरप्रसाद आर्चायले जानकारी दिए।
४८ दशमलव ७५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त धाममा हालसम्म १८ अटा देशका ख्याति प्राप्त साहित्यीक सष्टाको अर्धकद शालिक अनावरण गरिएको छ।
सालिक राख्नका लागि ४ बिगाहा क्षेत्रफल छुट्टाईएको छ। उक्त स्थानमा १०८ वटा शालिक राख्ने तयारी धामले गरेको छ। मर्सि कपिलको तपोभुमि, भगवान बुद्धले मर्सि कपिलसंग ज्ञान आर्जन गरेको तथा पतञ्जली ऋषिले योग अभ्यास सिकि बिश्वभर फैलाएको स्थल भएकाले सोहि अनुरुप गुरुयोजना निर्माण गरी काम गर्न लागिएको अध्यक्ष आचार्यले बताए।