एकसाता पनि टिक्दैन नेताको नैतिकता

1486

भुवन कार्की (टिप्पणी)
बुटवल, १८ पुस । अचेल सबैभन्दा नैतिकताहीन राजनीति गर्ने ब्यक्ति भएका छन् । राजनीति गर्नेले देशको मूल नीति बनाउने हो तर नैतिकता नभएका र समाजप्रति जवाफदेही नहुने नेताले गरेको राजनीति केवल स्वार्थ प्रेरित हुँदोरहेछ ।
नेकपाका रुपन्देही जिल्ला इन्चार्ज दधिराम न्यौपाने (माधव शर्मा) ले यही पुस १२ गते नेकपाले तिलोत्तमाको ड्राइभरटोलमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेकोप्रति कटाक्ष गरे । संसद विघटन गरेर प्रधानमन्त्रीले गैरसंवैधानिक र अलोकतान्त्रिक काम गरेको भनेर चर्को गर्जन छोडेका नेता न्यौपानेले १८ गते शनिबार पत्रकारहरुले बुटवलमा गरेको कार्यक्रममा भने १२ गतेको उल्टो भाषण गरे । उनले ओलीको कदम संवैधानिक र अन्तरराष्ट्रिय अभ्यासमा समेत उचित भएको दावी गरे । बाध्यात्मक अवस्थाले ओलीले यो कदम चालेको भन्दै ओलीको भजन गाए । बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु अन्तर्राष्ट्रिय प्रचलन रहेको भन्दै यसलाई असंवैधानिक भन्ने नमिल्ने बताए ।उनलाई नेकपा महासचिव विष्णु पौडेलले प्रदेश मन्त्री बनाईदिने उधारो आश्वासन दिएपछि रातारात उनले कित्ता परिवर्तन गरेका हुन् ।
यो एउटा सानो उदाहरण भयो । लुम्बिनी प्रदेशको राजधानी दाङ लैजान दिएर नेकपाका महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको बार्गेनिङ गरेजस्तै, मन्त्री पद प्राप्तिको लागि रामबहादुर थापा र टोपबहादुर रायमाझीले गुट परिवर्तन गरे जस्तै साना नेताले पनि आफ्नो नैतिकता र समाजप्रतिको प्रतिबद्धता लत्याएर भाषण गर्ने थालेपछि अब समाजले कसरी मूल्याङ्कन गर्ला ? थुप्रै नेताहरुले स्वस्थ प्रतिस्पर्धाको लागि होइन् पदलालुपताले गुट र पार्टी परिवर्तन गर्ने लहर चलेको छ । के राजनीति गर्ने नेताहरुले आफ्नो स्वार्थका लागि जनताहरुलाई ढाँटिरहनुपर्ने अवस्था आएको हो ? एकसाताअघि असंवैधानिक र एकसातापछि संवैधानिक कदम भनेर विष्लेषण गर्ने नेतालाई जनताले कसरी बुझेका होलान् ? कि जनता भेंडा नै हुन् यिनलाई जसरी पनि आफ्नो कार्यकर्ता बनाइराख्न सकिन्छ भन्ने नेताहरुको बुझाई होला ?
चाहे जेहोस् नेता र राजनीतिप्रति वितृष्णा बढेको छ । बिकृत राजनीतिक घटनाक्रमले नयाँ पुस्तालाई राजनीतिप्रति प्रेरित गर्न नसक्दा बरु युवाहरु आफ्नो जीवन निवार्हका लागि विदेशिने क्रम बढेको छ । राजनीतिलाई समाजसेवाको भूमिकाले भन्दा कमाउधन्दाको रुपमा बढी प्रयोग गर्ने प्रचलन बढेपछि समाजमा वितृष्णा बढेको हो । केही वर्ष राजनीति गरेको एक वडाअध्यक्ष समेत लाखौं रकम घुससहित पक्राउ पर्ने गरेका छन् । राजनीति गर्नेले देशको मूल नीतिबिरुद्ध अनैतिक काम गर्न थालेपछि देश कसरी उभो लाग्ला ? पैसा कमाउनकै लागि त अन्य पेशा व्यवसाय गरे हुँदैन र ? पद र पैसाको लागि आफ्ना कार्यकर्ता र समाजप्रतिको दायित्व भूलेर पारिवारिक सुखसयलका निम्ति गरिने राजनीतिले देशको भविश्य कता लैजाला ? विधि र पद्धति अनुसरण गर्ने होइन् भनेजस्तो नभए ब्यवस्थानै परिवर्तन गरिदिन्छु भनेर धम्की दिने अहिलेका शासकहरुको राजनीति झन् भन्दा झन धमिलो बन्दै गएको अनुभूति भएको छ ।
तस्विरमा नेता दधिराम न्यौपाने