ओलीले संविधानको अपहरण गरे : नेता भूसाल

192

रुपन्देही, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रुपन्देहीको बुटवलमा वहृत प्रदर्शन गरेको छ । नेकपाका नेता तथा कार्यकर्ताहरुले मंगलबार सडक प्रदर्शन गरेर बुटवलको चौराहा र ट्रफिकचोकमा कोणसभा समेत गरे ।
कोणसभालाई संवोधन गर्दै नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भूषालले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर गल्ती गरेको बताए । नेता भूसालले भने, ‘संविधानको संरक्षण गर्न पठाइएका ओलीले आफू अनुकल प्रयोग गर्नुभयो, यो गम्भीर गल्ती हो, यसलाई नसच्याइए दुर्भाग्य हुनेछ ।’ आफू अनुकुल ब्याख्या गरेरर ओलीले संविधानको अपहरण गरेको नेता भूसालले बताए । कुनैपनि हालतमा प्रतिनिधि सभा पुनःस्थापन हुनुपर्ने उनको भनाई थियो । संविधानविपरित प्रतिनिधि सभा विघटन गरिएकाले त्यसलाई सर्वोच्च अदालतले पुनःस्थापना गर्ने उनको तर्क छ ।
निवर्तमान कृषिमन्त्री समेत रहेका नेता भूषालले यदि अदालतले प्रतिनिधि सभा पुनःस्थापना नगरे देशभर आन्दोलन हुने र त्यही आन्दोलनले प्रतिनिधि सभा पुनःस्थापना गर्न सरकार बाध्य हुने उनले उल्लेख गरे । नेता भूसालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित कदम चालेर पार्टीको विधि र पद्धति समेत उल्लंघन गरेको बताए । पार्टीले सरकार संचालनमा कुनै अवरोध नगरेको भएपनि घेराबन्दी गरियो भन्ने भ्रम सृजना गरेर गैरसंबैधानिक कदम चालेको भन्दै प्रधानमन्त्री ओलीको भूसालले चर्को आलोचना गरे । प्रतिनिधि सभा पुनःस्थापना भए पार्टी फूटबाट पनि जोगिने नेता भूसालले दाबी गरे ।
कोणसभालाई नेकपाका नेताहरु बामदेव क्षेत्री, हकिकुल्ला खाँ, निर्मल जीसी लगायतले सम्बोधन गर्दै प्रतिनिधि सभा पुनःस्थापना नभए देश थप संकटमा फस्ने उद्घोष गरे ।