राजा मात्र होइन, रैतिले खोसेको संविधान पनि फिर्ता गर्छौं : नेता भूसाल

302

रुपन्देही, पुस १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य घनश्याम भूषालले प्रधानमन्त्री केपी शर्मा ओली प्रितिनिधि सभा विघटन गरेर संविधान च्यात्ने प्रयास गरेको बताएका छन् ।
विगतमा राजाले संविधान खोस्ने गरेको उदाहरण पेश गर्दै नेता भूषालले प्रधानमन्त्री ओली रैति भएर पनि संविधान खोस्ने प्रयास गरेको तर त्यसलाई असफल पारिने उद्घोष गरे ।


अदालतबाट प्रतिनिधि सभा पुनःस्थापन हुने उनले बताए । संविधानविपरित प्रतिनिधि सभा विघटन गरिएकाले त्यसलाई सर्वोच्च अदालतले पुनःस्थापना गर्ने उनको दावी छ ।
नेकपा रुपन्देहीले आईतबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको भेलामा बोल्दै निवर्तमान कृषिमन्त्री भूषालले यदि अदालतले प्रतिनिधि सभा पुनःस्थापना नगरे देशभर आन्दोलन हुने र त्यही आन्दोलनले प्रतिनिधि सभा पुनःस्थापना हुने उल्लेख गरे । नेता भूसालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित कदम चालेर पार्टीको विधि र पद्धति समेत उल्लंघन गरेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले संविधान च्यात्न शुरु गर्नुभयो, यसरी अघि बढे देश अस्थिरतामा फस्छ ।’ पार्टीले सरकार संचालनमा कुनै अवरोध नगरेको भएपनि घेराबन्दी गरियो भन्ने भ्रम सृजना गरेर गैरसंबैधानिक कदम चालेको भन्दै प्रधानमन्त्री ओलीको भूसालले चर्को आलोचना गरे । एमसीसी परियोजनालाई संसोधनसहित पास गर्नेबारे विवाद रहे पनि अन्य कुनै पनि बिवाद पार्टीमा नभएको नेता भूसालको भनाई छ ।
प्रतिनिधि सभा पुनःस्थापना भए पार्टी फूटबाट पनि जोगिने नेता भूसालले दाबी गरे । पार्टीमा ७० प्रतिशित नेता तथा कार्यकर्ताले ओलीको कदमको विरोध गरिरहेको भन्दै नेता भूसालले प्रतिनिधि सभा पुनःस्थापना नभए स्वतः बिद्रोह शुरु हुने उल्लेख गरे ।
कार्यक्रमलाई संबोधन गर्दै नेकपा लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री ओलीले कम्युनिष्ट आचरण त्यागेको गुनासो गरिन् । प्रतिनिधि सभा विघटन गैरसंविधानिक कदम भएकाले यसलाई नसच्याए देश गम्भीर संकटमा फस्ने उनको भनाई छ ।
कार्यक्रममा नेकपाका नेताहरु बामदेव क्षेत्र, दधिराम न्यौपाने, हकिकुल्ला खाँ, नन्दीकिशोर ढकाल, अनुप बराल लगायतले बोल्दै प्रधिनिधि सभा पुनःस्थापनाको माग गरे । कार्यक्रम नेकपा रुपन्देही सचिव निर्मल जीसीको अध्यक्षतामा भएको हो । कार्यक्रममा हजारौं नेता तथा कार्यकर्ताहरु उपस्थित थिए ।