सात लाख तिरेर उम्कीयो ज्यानमारा देवदह मेडिकल कलेज

974

भुवन कार्की
बुटवल, २३ मंसिर । डाक्टरको चरम लापरवाहीले एक सुत्केरीको ज्यान गएपछि रुपन्देहीको देवदह मेडिकल कलेजले सात लाख रुपैयाँ तिरेर घटना थामथुम पारेको छ ।
रुपन्देहीको तिलोत्तमा वडा नं. १० की ३१ वर्षीया महिला राधा थारुको सुत्केरी गराउने क्रममा उक्त मेडिकल कलेजमा ज्यान गएको थियो । डाक्टरको लापरवाहीले सुत्केरीको ज्यान गएपछि मृतकका परिवारले अस्पताल घेराउ गरेर कारवाहीको माग गरेका थिए । मंसिर १८ गते मृत्यु भएकी सुत्केरी राधालाई अस्पतालले चार दिनसम्म अवस्था सार्वजनिक नगरेर २१ गतेमात्र मृत घोषणा गरेको थियो ।
देवदह मेडिकल कलेजले सुत्केरीको मृत्यु घोषणा नगर्दै राधाका आफन्तसंग पैसाको बार्गेनिङ गरको थियो । २० गते भएको वार्तामा चार लाख दिन तयार रहेको अस्पतालले २२ गते भएको सात लाख रुपैयाँ दिएपछि पीडित परिवार घर फर्केको स्थानीय प्रदीप थापाले जानकारी दिए ।
१८ गते अपरेशनपछि बच्चा हातमा लिएर केही घण्टा आफन्तसंग कुराकानी गरेकी राधा अत्याधिक रक्तश्रावपछि पुनः आईसीयूमा राखेर थप दुई पटक अपरेशन गरिएको थियो ।
२१ गते शनिबार राधाका परिवारलाई मेडिकल सुपेरीटेण्डेट डा. बिक्रम ज्ञवालीले चार लाख दिएर राधालाई मृत घोषणा गर्ने सर्त राखेका थिए । अन्ततः अशिक्षित राधाका परिवारले सात लाखमा चित्त बुझाएका छन् । मृतकका श्रीमान् विदेशी थारु (हिरालाल) ले शुरुमा ५० लाख माग गरेका थिए ।
सुत्केरीको ज्यान गएको चार दिनसम्म अवस्था सार्वजनिक नगरी पैसाको वार्गेनिङ गर्ने मेडिकल सुपेरीटेण्डेट ज्ञवालीले ‘बिरामीको अवस्था जटिल छ, जतिबेला जेसुकै पनि हुनसक्छ’ भन्दै पीडितका परिवारलाई टार्दै आएका थिए ।
सुत्करीका अफन्तहरुले सुत्करीको मृत्यु भइसकेको तर अवस्था सार्वजनिक नगरिएको भन्दै आन्दोलनमा थिए । उनीहरुले दुई दिन मेडिकल कलेज घेराउ गरेका थिए ।
आईतबार भएको छलफलमा अस्पतालका अध्यक्ष गोपाल पोखरेलले पीडितका परिवारलाई सात लाख रुपैयाँ दिने सहमति गरेर घटना थामथुम पारेका छन् । सुत्केरीको उपचारमा डा.संजिव योञ्जनको टोली सहभागी थियो ।