ज्यानमारा देवदह मेडिकल कलेज पैसाको बार्गेनिङ गर्दै

1043

भुवन कार्की
बुटवल, २१ मंसिर । ज्यान बाँचे पो धन दौलतको कुरा हुन्छ । मानिसको ज्यान ठूलो कि पैसा ? अस्पतालहरुमा स्वास्थ्यकर्मीले गरेका गम्भीर लापरवाहीका घट्नालाई पैसा दिएर छोप्ने रबैया कहिलेसम्म ? मानिसको जीवनलाई पैसासंग तुलना गर्न मिल्छ ?
मतृकलाई बिरामी छ भनी कोमामा राखेर ज्यान गएमा यति उति पैसा दिन तयार छौं भन्ने कुनै अस्पतालकोे मापदण्ड हुनसक्छ ? यस्तै एउटा घटना रुपन्देहीको देवदहस्थित देवदह मेडिकल कलेजमा घटेको छ । परिवारजनको दावी अनुसार रुपन्देहीको तिलोत्तमा वडा नं. १० की ३१ वर्षीया महिला राधा थारुको सुत्केरी गराउने क्रममा उक्त मेडिकल कलेजमा ज्यान गएको छ । तर अस्पतालले मृत्यु घोषणा नगर्दै राधाका आफन्तसंग पैसाको बार्गेनिङ गरको छ ।
अपरेशनपछि बच्चा हातमा लिएर केही घण्टा आफन्तसंग कुराकानी गरेकी राधा अत्याधिक रक्तश्रावपछि पुनः आईसीयूमा पुग्नु पर्यो । अन्ततः उनी अब यो लोकमा फर्केर आउने अवस्थामा छैनिन् सायद । तर अस्पतालका डाक्टर आलंकारिक कुरा गरेर टार्ने प्रयास गर्दैैछन् । एउटा स्वस्थ मानिसको शशिरमा गम्भीर लापरवाही गरेर परिवारसंग पैसाको वार्गेनिङ शनिबार गरिएको छ । शनिबार राधाका परिवारलाई मेडिकल सुपेरीटेण्डेट डा. बिक्रम ज्ञवालीले चार लाख दिएर राधालाई मृत घोषणा गर्ने सर्त राखे । अन्ततः अशिक्षित राधाका परिवारले पनि ५० लाखको बार्गेनिङ गरे । राधाका श्रीमान् विदेशी थारुकै संलग्नतामा ५० लाखको बार्गेनिङ भयो । के मानिसको जीवन नगद धन सम्पत्तिसंग तुलना गर्न सकिन्छ ?
राधालाई सुत्केरी गराउन गत मंसिर १७ गते बुधबार अस्पताल भर्ना गरिएको थियो । बिहीबार विहान अपरेशन गरी बच्चा निकालीएको थियो । तर केही घण्टापछि सुत्केरी बेहोस भएपछि पुनः अपरेशन कक्षमा लगिएको र हालसम्म अवस्था सार्वजनिक नगरिएको राधाकी दिदी फूलमति थारु बताउँछिन् । अवस्था सार्वजनिक नगरी पैसाको वार्गेनिङ गर्ने मेडिकल सुपेरीटेण्डेट बिक्रम ज्ञवालीले भने, ‘बिरामीको अवस्था जटिल छ, जतिबेला जेसुकै पनि हुनसक्छ ।’ यो भाषा आम मनिसले बुझ्ने भाषा हो ? लापरवाहीको कारण मृत्यु नभएको भए किन परिवारजनसंग उनको जीवनको मोलतोल गरिंदै छ ? शनिबारको छलफलमा आफूहरु चार लाख रुपैयाँ पीडितको परिवारलाई दिन तयार भएको डा. ज्ञवालीले स्वीकार गरे ।
सुत्करीका अफन्तहरुले सुत्करीको मृत्यु भइसकेको ठानेका छन् तर अस्पतालले घोषणा गर्न आनाकानी गरेर पैसाको मोलतोल शुरु गरेको छ । स्थानीय प्रदीप थापा अस्पतालको लापरवाहीको कारण सुत्केरीको मृत्यु भएको र अस्पतालले पैसा दिएर परिवारलाई फकाउने प्रयासमा रहेको बताउँछन् ।
मानिसको जीवनलाई पैसासंग तुलना गरेर मोलतोल गरिरहेको देवदह मेडिकल कलेजका डाक्टर लोहोनीका अनुसार हाल काठमाडौंमा रहेका अस्पतालका अध्यक्ष गोपाल पोखरेल आएपछि थप मोलतोल हुनेछ । अध्यक्ष पोखरेल सोमबार रुपन्देही आएपछि थप छलफल हुने बताइएको छ । सुत्केरीको उपचारमा डा.संजिव योञ्जनको टोली सहभागी थियो ।