देवदह मेडिकल कलेजमा लफडा

829

तीन दिनसम्म सुत्केरीको अवस्था सार्वजनिक गरिएन

बुटवल, २० मंसिर । रुपन्देहीको देवदहस्थित देवदह मेडिकल कलेजमा एकजना सुत्केरी उपचारमा गम्भीर लापरवाही भएको भन्दै तनाव उत्पन्न भएको छ । सुत्केरीको तीन दिनसम्म अवस्था सार्वजनिक नगरिएपछि तनाव उत्पन्न भएको हो ।
तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छी बजारकी ३१ वर्षीया राधा थारुलाई सुत्केरी गराउन गत मंसिर १७ गते बुधबार अस्पताल भर्ना गरिएको थियो । बिहीबार विहान अपरेशन गरी बच्चा निकालीएको थियो । तर केही घण्टापछि सुत्केरी बेहोस भएपछि पुनः अपरेशन कक्षमा लगिएको र हालसम्म अवस्था सार्वजनिक नगरिएको राधाकी दिदी फूलमति थारुले जानकारी दिइन् ।
सुत्करीका अफन्तहरुले सुत्करीको मृत्यु भइसकेको तर अस्पतालले घोषणा गर्न आनाकानी गरेको दावी गरेका छन् । स्थानीय प्रदीप थापाले अस्पतालको लापरवाहीको कारण सुत्केरीको मृत्यु हुनसक्ने भन्दै आज शनिबार विहानैदेखि स्थानीयहरुले अस्पताल घेराउ गरेको बताए । तीन दिनसम्म सुत्केरीको अवस्था सार्वजनिक नगरिनु नै अस्पतालको गम्भीर लापरवाही भन्दै स्थानीयले अस्पताल प्रशासनलाई भेट्ने प्रयास गरिरहेको थापाले बताए । सुत्केरीकी दिदी फूलमतिका अनुसार राधालाई तीन पटक अपरेशन गरिएको जानकारी अस्पतालले दिएको छ । फूलमतिले भनिन, ‘तीन दिनसम्म हामीलाई भेट्न दिइएको छैन, जिउँदो मर्दो सार्वजनिक गरिएको छैन, यो डाक्टरको लापरवाही नै हो ।’ उनका अनुसार सुत्केरी जिवीत छ भन्नेमा परिवारजन विश्वस्त छैनन् । सुत्केरीका श्रीमान्सहितका आफन्तले अस्पताल प्रशासनसंग जानकारी मागिरहेका छन् । जन्मेको शिशु भने कुशल रहेको बताइएको छ ।
उता देवदह मेडिकल कलेजका डाक्टर बिक्रम लोहोनीले भने सुत्केरीको जटिल अवस्थामा उपचार भइरहेको प्रतिक्रिया दिएका छन् । भेन्टीलेटरको सहयोगमा स्वासप्रस्वास गराइएको उनको भनाई छ । तर आफन्तले सुत्केरीको मृत्यु भइसकेको तर अस्पतालले उपचार हुँदैछ भनेर ढांटिरहेको गुनासो गरेका छन् । शनिबार विहानैदेखि अस्पताल प्रशासनसंग संवादको प्रयास गरिरहेको स्थानीय थापाले जानकारी दिए । सुत्केरीको उपचारमा डा.संजिव योञ्जनको टोली सहभागी थियो ।