भ्रष्टाचारबिरुद्धको महाअभियान रुपन्देहीमा पनि

196

बुटवल, २७ कात्तिक । भ्रष्टाचारबिरुद्धको महाअभियान रुपन्देहीमा पनि शुरु भएको छ । सुशासनको लागि हाम्रो नेपाल ः हामी नेपाली अभियान नामको संस्थाले बुधबार तिलोत्तमाको ड्राइभरटोलमा एक कार्यक्रमको आयोजना गरी रुपन्देहीमा संगठन निर्माण गरेको छ ।
उक्त अभियानको लागि रुपन्देहीमा डम्बरबहादुर जीसीको संयोजकत्वमा समिति निर्माण गरिएको हो । जसको सहसंयोजकमा रितु गौतम, सचिवमा सिंह बोगटी, सहसचिवमा गिरीराज भट्राई, कोषाध्यमा रेशम जीसी, सहकोषाध्यमा सीता भूसालसहित १५ सदस्यीय समिति गठन भएको संयोजक डम्बरबहादुर जीसीले जानकारी दिए । संस्थाको सल्लाहकारमा शेरबहादुर कुँवर, पदम जीसी र शिव चापागाई रहेका छन् ।
उक्त कार्यक्रमलाई संवोधन गर्दै अभियानका केन्द्रीय सचिव भिमबहादुर शाहीले देशमा भ्रष्टाचारबिरुद्धको अभियानलाई तिब्र पार्न आफूहरु लागी परेको बताए । उनले अहिले देशमा भ्रष्टाचार झन् बढेको भन्दै यसको बिरुद्ध आम नागरिक सचेत हुनुपर्ने र आफूहरुको अभियानलाई सघाउनुपर्ने आवश्यकता औंल्याए । केन्द्रदेखि स्थानीय तहसम्म नै भ्रष्टाचार मौलाएको भन्दै यसकाबिरुद्ध भण्डाफोर गर्न आफूहरुले देशभर संगठन बिस्तार गरिरहेको शाहीले बताए । सरकारी निकायले सूचना लुकाएर भ्रष्टाचारीलाई नै सघाउ पुर्याईरहेको पनि उनले उल्लेख गरे । देशका ३२ जिल्लामा संगठन बिस्तार गरेर भ्रष्टाचारका विरुद्धका कार्यक्रम जारी राखेको उनको भनाई छ । गत वर्ष स्थापना भएको यो संस्थाको निकट भविश्यमै केन्द्रीय भेला गर्ने तयारी भएको पनि उनले जानकारी दिए ।
कार्यक्रममा अभियानका प्रदेश संयोजक शिवराज ढकाल, सचिव ओमप्रकाश राना लगायतले पनि बोलेका थिए । यो अभियानको केन्द्रीय संयोजकमा ज्ञानेन्द्र शाही छन् ।