ढुवानी ब्यवसायीद्धारा कोरोना परीक्षण

1214

१० जनामा भेटियो कारोना पोजेटिभ
बुटवल, ९ भदौ । पश्चिमाञ्चल ट्याङ्कर ब्यवसायी संघ रुपन्देही र नेपाल आयल निगमको समन्वयमा पेट्रोलियम ब्यवसायी, कर्मचारी तथा मजदुरहरुको कोरोना परीक्षण गरिएको छ ।
रुपन्देहीको तिलोत्तमास्थित भलवारीमा पेट्रोलियम ब्यवसायमा संलग्न ब्यवसायी, मजदुर तथा कर्मचारीमा कोरोना संक्रमण परीक्षण गरिएको हो । १०÷१० दिनको फरकमा तीन पटक गरिएको पीसीआर परीक्षणबाट १० जनामा कोरोना पोजेटिभ देखिएको पश्चिमाञ्चल ट्याङ्कर ब्यवसायी संघ रुपन्देहीका सहमहासचिव प्रेम जीएमले जानकारी दिए । ती मध्ये भैरहवा आयल निगमको पेट्रलपम्पका ३, एयरपोर्टबाट ४ र भलवारी डिपोबाट ३ जनाले आइसोलेशनमा बसेर १५ दिन बिताएका बताइएको छ । उनीहरु अझै केही दिन होम क्वारेन्टीनमै बस्ने नेपाल आयल निगमका उपमहाप्रवन्धक शैलेन्द्र भूसालले जानकारी दिए ।
उनीहरुको नाम ठेगाना भने गोप्य राखिएको छ । कुल ६६ जनामा गरिएको परीक्षणमा ५६ जनाको भने नेगेटिभ परिणाम आएको जीएमले बताए । बुटवलको नेशनल प्याथ ल्याबले पीसीआर परीक्षण गरेको थियो ।
पश्चिमाञ्चल ट्याङ्कर ब्यवसायी संघले १५÷१५ दिनमा चालक तथा सहचालकको पीसीआर परीक्षण गरिरहेको र यसलाई निरन्तरता दिइने बताएको छ । पश्चिमाञ्चल ट्याङ्कर ब्यवसायी संघका सहमहासचिव प्रेम जीएमले आफूहरुले पनि पीसीआर परीक्षण गराएर सुरक्षित रहेको र चालक सहचालकलाई स्वस्थ्य सामग्रीहरुको ब्यवस्था गरेर सुरक्षित तवरले भारतसम्म तेल भर्न पठाउने गरेको बताए ।