बुटवलको कोरोना अस्पतालमा थप एकजनाको मृत्यु

254

बुटवल, ५ भदौ । बुटवलका रामनगरस्थित कोरोना विषेश अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणपछि उपचाररत प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
भदौ १ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा शुक्रबार बिहान साढे ६ बजेतिर मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टी गरे । भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । स्वाबको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि प्यूठानमै उपचार भइरहेकामा ज्वरो, खोकी र स्वाशप्रस्वासमा समस्या देखिएपछि बुटवल ल्याइएको थियो । मृतक गौतममा मधुमेह र उच्च रक्तचापको समस्या समेत थियो । उपचारकै क्रममा गौतमलाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ । यो संगै बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु हुने संख्या तीन पुगेको छ ।