बधशालामा ५ करोड लगानी : बालुवामा पानी

247

बुटवल, १ साउन । बुटवलमा पांच वर्ष अगाडि करिब पांच करोड रुपैयां लगानीमा निर्माण भएको पशु बधशाला निर्माण पूरा भएर पनि सञ्चालनमा आउन नसकेपछि फेरि बधशाला बनाउन थालिएको छ । बुटवल–१० रामनगरमा ५ वर्ष पहिले बनेको भवन अलपत्र छ । कृषि मन्त्रालय अन्तरगतको पशुपंक्षी बजार निर्देशनालय र तत्कालिन बुटवल नगरपालिकाको लगानीमा निर्माण गरिएको बधशालाको भवन बनाएको पांच वर्षपछि प्राविधिक टोलीले त्यस भवनमा बधशाला चलाउन नसक्ने निष्कर्ष निकाल्यो । राज्यको झण्डै पाँच करोड रूपैयाँ ‘लगानी ‘बालुवामा पानी’ सरह बनाएर सरकारी निकाय असफल भएपछि अहिले फेरि २२ करोड १३ लाख ३५ हजार ९९६ को लागतमा नयां बधशाला बनाउन शुरु भएको हो ।

प्रदेश ५को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बुटवल उप–महानगरपालिका, मासु व्यवसायी र हेफर इन्टरनेसनल नामको गैरसरकारी संस्थासंगको सहकार्यमा सोही स्थानको तीन बिघा जग्गामा बुटवल मासु उत्पादन तथा प्रशोधन परियोजना (पशु बधशाला) बनाउन बुधबार मुख्यमन्त्री शंकर पोखरेलले शिलान्याश गरेका छन् । करिब पांच करोड लगानी भएको हालको बधशालाको भवन अब चमेना गृहको रुपमा प्रयोग गर्न सकिने भूमि व्यस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले बताए । नयां बधशालाका लागि प्रदेश सरकारले ७ करोड र बुटवल उपमहानगरपालिकाले ३ करोड रूपैयाँ बजेट बिनियोजन समेत गरेका छन् । मन्त्रालयका सचिव सुवेदीले विगतका कमी कमजोरीलाई सच्चाएर नयां बधशाला बनाउने र सञ्चालनमा ल्याउने बताए । बुटवलमा दैनिक २ हजार ५ सय पशुपंक्षी बध गरिँदै आएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले दिगो रुपमा सञ्चालनका लागि सार्वजनिक क्षेत्र, उत्पादक, मासु व्यवसायी तथा उपभोक्ताहरुको सक्रिय सहभागितामा बधशाला बनाएर सञ्चालन गरिने बताइन् । प्रदेश सरकारले बुटवलको बधशालाका लागि ७ करोड, नेपालगञ्जका लागि ७ करोड र दाङका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
शिवशक्ति कन्ट्रक्सन प्रालिलाई ठेक्का दिइएको र निर्माण सुरु भएको १६ महिनामा निर्माण सक्ने सम्झौता भएको सचिव सुवेदीले बताए । अब बन्ने बधशालामा पहिलो चरणमा दैनिक एक हजार खशी बोका बध गर्न मिल्ने छ । यहाँ बाख्राको चरन, होल्डिङ, पशु स्वास्थ्य चेकजाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरुका लागि प्राथिमक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैंचा निर्माण गरिने छ । यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर वायो ग्यास निकाल्ने योजना रहेको छ ।
बधशालामा करिब १२ हजार पशुपालक महिला किसानहरु र तीन सय मासु व्यवसायीहरु सहभागी हुने हेफरका कार्यकारी निर्देशक डा. तिर्थराज रेग्मीले बताए । हालसम्म करिब सात हजार जना उद्यमी महिलाहरु र एक सय जना मासु व्यवसायीहरु विभिन्न इन्भेस्टमेन्ट कम्पनीहरुमार्फत सहभागी भएका उनले बताए । परियोजना निर्माण र सञ्चालनका लागि हालसम्म उद्यमी महिला सदस्यहरुबाट करिब ७ करोड तथा मासु व्यवसायीहरुबाट ३ करोड ७८ लाख रुपैयाँ संकलन गर्ने प्रतिबद्धता आइसकेको हेफरका कार्यक्रम संयोजक अनन्त सिलवालले बताए ।