आर्सेनिक एल्व औषधि नगरपालिकाहरुलाई बितरण

685

बुटवल, १ असार । कोभिड १९ (कोरना भाइसर) रोगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधी रुपन्देहीका विभिन्न ठाउँमा बितरण गरिएको छ । यहाँका नगरपालिकाहरुलाई आईतबार बितरण गरिएको हो । बुटवलको कालिका कल्याणकारी समाजले नगरपालिकाहरुलाई औषधि बितरण गरेको हो ।
समाजका सचिव दिनेश कुँवरले दिएको जानकारी अनुसार आईतबार समाजले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिकालाईमा पुगेर नगरप्रमुखहरुलाई यो औषधि एकमुस्ट बितरण गरेको हो । बुटवल उपमहानगरमा एकहजार तथा अन्य नगरपालिकामा पाँच÷पाँच सय जनालाई पुग्ने गरी पहिलो चरणमा औषधि बितरण गरिएको कुँवरले बताए । समाजले बुटवलस्थित ओमकालिका होमियोप्याथिक अस्पतालको सहयोगमा औषधि बितरण गरेको हो ।
अस्पतालका डाक्टरहरु सन्तोष न्यौपाने, महाराज सन्तकुमार सिंह कुर्मी, बिद्या सागर तथा अस्पताल संचालक डा. माधव थापा लगायतको टोलीले यी नगरपालिकाहरुमा औषधि बितरण गरेको समाजका जंगबहादुर थापाले बताए ।
औषधि बितरण कार्यक्रममा नगरप्रमुखहरुले प्रसंशा गरेको र आवश्यक परे थप औषधि उपलब्ध गराउन आग्रह गरेको अस्पताल संचालक थापाले बताउनुभयो । समाज र अस्पतालको संयुक्त टोलीले बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी, तिलोत्तमाका प्रमुख बासुदेव घिमिरे, सैनामैनाका प्रमुख चित्रबहादुर कार्की र देवदहका प्रमुख हिराबहादुर खत्रीलाई भेटी औषधि बितरण गरेको कुँवरले जानकारी दिए । समाज तथा अस्पतालको उक्त टोलीले सोमबार कलिबस्तुका विभिन्न नगरपालिकाहरुमा यो औषधि बितरण गरिरहेको छ । जिल्लाको वाणगंगा, बुद्धभूमि, शिवराज र महाराजगंज नगरपालिकामा औषधि बितरण गरिरहेको थापाले जानकारी दिए ।


खासगरी कोरना उपयोगी भनिएको यो औषधि सबै खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिको रुपमा चिकित्सकहरुले बितरण गर्दै आएका छन् । मारवाडी सेवा समितिले पनि देशका विभिन्न ठाउँमा यो औषधि बितरण गर्दै आएको छ ।
बुटवलमा पत्रकारहरुको लागि नेपाल पर्यटन पत्रकार महासंघले यो औषधि बितरण गर्दै आएको छ । हालसम्म तीन दर्जन पत्रकार तथा उनका पाँच जनाको परिवारलाई पुग्ने गरी औषधि बितरण गरिएको महासंघका महासचिव कपिल ज्ञवालीले जानकारी दिए । यो औषधि दैनिक चारवटा खालीपेटमा तीन दिनसम्म खानुपर्ने छ ।


अन्य रोगसंगै कोरना संक्रमको जोखिमलाई न्यूनीकरण गर्न सक्ने यो औषधिलाई नेपाल सरकारले प्रोटोकलमा राखेको छ । कोरना महामारीको अवस्था थप जटिल हुन नदिन यो औषधि उपयोगी हुने तथा रोग प्रतिरोधी क्षमता बृद्धि गर्ने भएकाले अन्य रोग समेत सजिलै नलाग्ने चिकित्सकहरुले बताउँछन् ।
यो औषधि खासगरी भारतमा उत्पादन हुने गर्दछ । विश्वका १ सय ८० देशले यो औषधि प्रयोग गर्ने गरेको चिकित्सकहरुले बताएका छन् ।