को हुन् अख्तियारले समातेका वडाअध्यक्ष पुन

1995

भुवन कार्की (टिप्पणी)
पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ स्थित बल्ढेङगढीका वडाअध्यक्ष देवेन्द्र पुन तीन लाख घुससहित शनिबार रुपन्देहीको सालझण्डीबाट पक्राउ परे ।
उमेरले जम्मा ३८ वर्षका आशा लाग्दा युवा थिए उनी । नेपाली काँग्रेसको राजनीतिमा सहजै परिचय बनाउन सफल भएका पुन परिवारको एक्लो छोरा हुन् । उनी गाउँको समान्य राजनीतिबाट स्थानीय तहको पहिलो निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए । करिब दुई सय मतान्तरले नेपाली काँगेसबाट बिजयी भएका थिए । उनले एसएलसीसम्मको अध्ययन पुरा गरेका छन् । पाँच वर्षको कार्यकालमा तीन वर्ष पुग्दा नै उनको राजनीतिमा ठूलो धक्का लागेको छ ।
राम्रा यी काम गरे
देवेन्द्र पुन नेपाली काँग्रेसको राजनीतिमा सानै उमेरबाट लागेको कारण युवाहरुमा राजनीतिप्रति मोह बढेको पाइन्छ । उनी सानैदेखि चतुर थिए । सांगठानिक परिचालनको काममा सिपालु थिए । समय अनुसार आफूलाई ब्यवस्थापन गर्न सक्ने यी कुरा नयाँ युवाहरुले उनीबाट सिक्न सक्नेछन् । तीन वर्षको कार्यकालमा उनले केही महत्वपूर्ण राम्रा काम पनि गरेका छन् । बल्ढेङगढीका मोटरबाटाहरु फराकिलो गर्ने काम गरे भने चिदीपानी, गहते, काउले सुकादमार जस्ता गाउँमा भित्रि नयाँ मोटरबाटाहरु बनाए । सालझण्डी—सुन्दरढुंगा मोटरबाटो अन्तरगत जोगदमारदेखि सुकादमारसम्मको मोटरबाटोलाई स्तरवृद्धि गर्न प्रत्येक वर्ष प्राथमिकता दिए, यद्देपी यो प्रयाप्त हुन सकेको छैन । यो बाटो सुधार भने भएको छ । संघीय संरचनापछि वडापालिकालाई आउने बजेटको आकार पनि ठूलो भएकाले उनले मोटरबाटाहरुलाई स्तरवृद्धि गर्न बढी चासो दिए । जसको कारण वर्षायाममा पनि गाडी चल्न सक्ने गरी केही सडकहरु स्तरवृद्धि भएका छन् ।
कमजोरी यस्ता
तीन वर्षे कार्यकालमा विकास निर्माणको काममध्ये मोटरबाटो निर्माणबाहेक अन्य काम खासै गर्न सकेनन् । शिक्षा, स्वास्थ्य, खानेपानी र व्यवसायिक कृषि प्रणालीको बारेमा आफ्नो क्षेत्रका मानिसलाई खुसी पार्ने गरी काम गर्न सकेनन् । परम्परागत कृषि प्रणालीलाई आधुनिकता दिने प्रयास केन्द्रदेखि नै भएपनि त्यसलाई गाउँस्तरमा ल्याउन उनी सफल देखिएनन् । अनुदानमा आएका बितरणमुखी कार्यक्रमबाहेक केही नयाँपन दिनेतर्फ उनले ध्यान पुर्याउन सकेनन् । यस वडामा वार्षिक करिब तीनदेखि चार करोडका योजना पर्ने गरेको भएपनि यो बजेटको खास उपदेयता देखाउन उनले सकेनन् । बितरणमुखी बजेट ब्यवस्थापनमा उनी अल्झिए । गाउँमा सामूहिक छलफल र सल्लाह लिने काममा उनी पुरापुर चुके । मेलमिलापको राजनीति गर्न सकेनन् । चुनाव जितेको दम्भमा एकलौटी निणर्यहरु लादे । कतिपय लोकप्रिय कार्यक्रमहरुलाई निन्तरता दिनुको साटो हटाए । प्रतिपक्ष दल, अग्रज तथा समाजसेवीहरुको सरसल्लाह लिने काम पटक्कै गरेनन् ।
यसरी फसे
राजनीतिसंगै सानैदेखि ब्यवसायमा पनि हात हालेका पुनले एक ट्क्याक्टर खरिद गरी गिट्टीबालुकाको काम पनि गर्थे । वडा अध्यक्ष निर्वाचित भएपछि ट्क्याक्टर भाडामा लगाउथे । जोगदमार क्षेत्रमा हुने काठ चोरी निकासीका विवादमा पनि कहिलेकाँही मुुछिएका पुनले ठेकेदारहरुसंग मिलेर लाभ लिने रहेछन् भन्ने तथ्य शानिबार मात्र प्रमाणित भएको छ । सालको काठ टेण्ठर हुने अति उत्पादनशील ठाउँ जोगदमार भएकाले उनले यसको फाईदा चुनावताका पनि लिएका थिए । चुनाव लड्दा केही ठेकेदारहरुले यिनलाई नगद सहयोग गरेका थिए । ठेकेदारहरुकै सहयोगमा पुनले ६ लाख रुपैयाँ खर्चेर चुनाव जितेका थिए । वडा अध्यक्ष निर्वाचित भएपछि पनि यिनले काठका टेण्डरहरुबाट पैसा लिंदारहेछन् भन्ने खुलेको छ । चुनाव जितेको तीनवर्ष भित्रै पाल्पाको छहरा र रुपन्देहीको सालझण्डी क्षेत्रमा जग्गा थपेका छन् भने गाउँमा पक्की घर पनि निर्माण गरेका छन् र महंगो मोटरसाईकल फेरेका छन् । तलब अनुसार उनको वार्षिक आम्दानी ४ लाखको सेरोफेरो हुन्छ । यद्देपी उनको घरमा आमाको पेन्सन पनि छ । तर उनको जीवनशैली र सम्पत्ति आर्जनको हिसावले आर्थिक अनियमितता गरेको आशंकालाई पछिल्लो घटनाले थप पुष्टि गरिदिएको छ । उनी घुस रकमसहित शनिबार रंगेहात पक्राउ परेपछि उनको राजनीतिक र सामाजिक जीवनमा ठूलो क्षति भएको छ ।
अख्तियारले नाम गोप्य राखेको भएपनि पुनलाई तीन लाख घुस दिने काठ व्यवसायी गाउँ नजिकै तर रुपन्देही जिल्लाका हुन् भन्ने हल्ला चलेको छ । ती व्यवसायीले फसाउने नियतले नै अख्तियारलाई बोलाएर नगद दिएका हुन् वा यो संयोग मात्र थियो भन्ने कुरा बिस्तारै खुल्दै जानेछ ।
चाहे जे होस् देवेन्द्र पुनले समाजसेवा र राजनीतिक त्यागलाई छोडेर छिटै धन सम्पत्ति कमाउँछु भन्ने लालसा बोकेकै कारण अनियमिततामा फसेका हुन् । राजनीति र समाजसेवाबाट सजिलै सम्पत्ति जोड्न सकिन्छ भन्ने भ्रमको कारण उनको जीवनमा धक्का लागेको हो । यसलाई परिपुर्ति गर्न उनलाई केही समय अवश्य लाग्नेछ । बल्ढेङगढीको समग्र विकासको लागि उनले हालसम्म गरेको प्रयासलाई धन्यबाद दिनैपर्छ । अब आईन्दा सत्कर्मले समाजसेवा र राजनीति गरुन् । आफूमा लागेको दाग मेटाएर फेरि पुरानै अवस्थामा फर्कन सकुन् । यही सुवेक्षा ।