नवराज बिकको अन्तिम प्रेमपत्र

1917

                                                                                   मिति  : १६ जेठ २०७७
प्रिय प्राणभन्दा प्यारी सुमी
तिमीलाई भेरी नदी भन्दा लामो र गहिरोे प्यार !

प्रिय सुमी ! आज यो परलोकबाट तिमीलाई अन्तिम प्रेमपत्र लेख्दैछु । थाहा छैन कुन नामको लोक हो तर तिम्रोभन्दा यो भिन्न छ । यहाँ म कुशल छु भन्ने लागेको छ, त्यहाँ तिमीलाई सोही चाहन्छु ।
प्रिय म भलिवल खेल्न तिम्रो गाउँ पुग्दा पहिलो पटक जुधेका हाम्रा नजर अन्ततः गहिरो प्रेममा परिणत भए तर यो समाजले देखिसहेन । तिमीले र मैले ब्यक्त गर्न नसकेका कयौं हाम्रा कहानीहरु म परलोक भएपछि दुनियाँले अनुमान मात्र लगाएनन् छरपस्ट ब्याख्या गरिदिए । चाहे जोहोस् म मरेर गएपनि मलाई र त्यो समाजको नियतीलाई दुनियाँले बुझ्ने कोशिस गरेको छ । यसर्थ म त्यती धेरै दुखि छैन ।
प्रिय हाम्रो कलिलै उमेरमा प्रेम बस्यो । आखिर प्रेम आफै हुँदोरहेछ । प्रेमको परिभाषा घटनाक्रमले बनाउँदोरहेछ । हामीले के के गर्यौं त्यो सायद प्रेमको परिभाषाभित्रै थियो । तर २१ औं सताब्दीको यो समाजले हाम्रो प्रेमलाई बुझ्न सकेन । यो आधुुनिक युगमा हामी उच र निच जातीका मान्छे होइनौ भन्ने सोंच ममा थियो, र तिमी पनि मलाई स्वकारीसकेकी थियौ । तर हाम्रो प्रेम देखिनसहने प्रकृतिका लाटोकोसेराहरुले हाम्रो प्रेमप्रति दृष्टिभ्रम फिजाईरहे ।
प्रिय मैले यो कुरितीयुक्त समाजको जालो च्यात्न खोजेकै हो । जसको कारण यसअघि गत बैशखमा म तिम्रो गाउँमा जाँदा तिम्रा छिमेकीले मलाई कुटपिट गरे । मेरो प्रेम अमर भएकै कारण म तिमीसंग टाढा हुन सकिन र निरन्तर तिमीलाई अंगालीरहें आत्मैदेखि । भौगोलिक रुपमा तिमी रुकुम र म जाजरकोट, तर आत्माले हामी संगै थियौं ।
प्रिय जेठ १० गते हामीलाई प्रकृतिले पनि धोका दियो, सुर्य र चन्द्र गह्रणले हामीलाई निष्पट अध्यारोमा छोपे । तिमी कुन कुनामा रोयौं थाहा भएन म भेरीको छालमा बग्न बाध्य भएं । मलाई निर्मम कुटपिटपछि भेरी नदीमा बगाए तिम्रा गाउँलेहरुले । म बग्दै बग्दै कुन लोकमा आईपुगें थाहा छैन । जेहोस् म त्यो दिनदेखि तिम्रो लोकमा छैन । म परलोकमा छु ।
प्रिय जे भयो भैगयो । तिमी ठूलो जातको आंगनमा हुर्केकी मेरो कल्पानाकी परी । म त यो समाजले हेला गरेर दलितको परिभाषाभित्र सीमीत गरिदिएको पिंजडाभित्रको प्रेमी । मलाई यो समाजले रोक्न सक्छ भन्ने अनुमान हुँदाहुँदै पनि प्रेमको आहुती दिन तयार भएं । त्यसैले त तिमीलाई पन्चेबाजा र डोली लिएर आउने सपना तुहेपछिपनि मलामी बन्न बाध्य साथी खोजेर तिम्रो हात माग्ने धृष्टता गरें । आखिर यसलाई मेरो मुर्खपन सावित गराउने कोशिस भएको छ ।
ठिकै छ प्रिय हामी कथित तल्लो र उपल्लो जातको जाँतोमा पसिएर निश्चिल प्रेमलाई पूर्णबिराम लगाउन बाध्य भयौं । तिमी उपल्लो र म तल्लो जातको परिभाषाभित्र भौतिक जीवनमा हाम्रो प्रेम लोप भयो । यद्देपि यो प्रेम अमर रहेने छ । म परलोकबाट पनि तिमीलाई नियाल्ने प्रयास गर्ने छु । हाम्रो प्रेम कहानी मुना र मदनको भन्दा कम सावित हुनेछैन ।
मेरी प्राणेश्वरी सुमी तिम्रो मायामा मैले जीवन अर्पेर आएं । तिम्रो र मेरो कुनै दोष थिएन । प्रेम गर्नु पाप थिएन । यदि पाप हो भने त्यही समाजको पाप हो, जसले हाम्रो प्रेमलाई फुल्न र फल्न दिएन । यसको कुनै दिन थप आधुनिक समाजले मूल्याङकन गर्नेछ । कथित उच र निच जातको सामाजिक लडाईले पनि एउटा निष्र्कष निकाल्ने छ ।

 मलाई बगाईएको भेरी नदीले तिमीलाई सधै सुस्केरा हाल्नेछ

प्रिय मैले त हाम्रो स्वच्छ निष्चल प्रेमको घाँटी निमोठ्न खोज्नेसंग अन्तिम युद्ध गरेर आएं । मैले भौतिक रुपमा हारे पनि नौतिक रुपमा जित्ने अपेक्षा गरेको छु । तिम्रो हात माग्न जाँदा केही शैली पुगेन होला, फरक बाटो अपनाउन सकिन होला, त्यो मेरो कमजोरी थियो । तर सबै भन्दा अप्ठेरो मैले तिमीलाई पारेको छु । म त जीवन इहलिला समाप्त गरेर परलोक भैसकेको छु । तर तिमी त्यही लोकमा छौ । अब हाम्रो प्रेम कहानीले तिमीलाई धेरै पिरोल्ने छ । अब तिमीलाई दुनियाँले प्रश्न गर्नेछ । मेरो र तिम्रो जीवनको मूल्य सोध्ने छ । संचारकर्मी, मानवअधिकारकर्मी, न्यायकर्मी, यिनीहरुले तिमीलाई न्यायलयको ढोकासम्म पुर्याउने छन् । त्यसैपनि हाम्रो प्रेममा गएको भूईचालोले तिम्रो मन भड्किएको छ । हाम्रो प्रेमको कहानी सोध्नेले तिमीलाई पनि मलाई जस्तै आहात बनाएर मानसिक रुपमा पटक पटक मार्ने प्रयास गर्नेछन्, तिमी बिछिप्त हुनेछौ । तैपनि हिम्मत नहार्नु । हाम्रो प्रेमको जीत अवश्य हुनेछ । तिमी अहिले अनुसन्धानको घेरामा बर्दीवाला प्रहरीको निगरानीमा छौ । अब तिमीलाई बयान फेर्न लगाइने छ । हामीलाई न्याय दिनुपर्ने देशका कानुन निर्माताहरु आफै अन्यौलमा छन् । देशभर जातीय विभेदबिरुद्ध आवाज बुलन्द भएका छन् । मिडिया जगतले साथ दिएको छ । म मरेर गएपनि कालान्तरमा यो समाजले जातीय विभेद जरो उखेल्न सफल हुनेछ ।


अन्त्यमा, मेरी प्रिय तिमीलाई दोहोर्याएर भन्छु तिमी कहिल्यै हार नखानु । न्यायको हारजितपछि पनि हाम्रो प्रेमले जितेकै हुनेछ । दुनियाँको नरजमा हाम्रो प्रेम लैला र मजुनको जस्तै उदाहरणीय हुनेछ । तर तिमी नबहकिनु । तिमीलाई मरेतुल्य बनाउने कोशिस हुनेछ । तर तिमी कहिल्यै मर्ने प्रयास नगर्नु । आत्महत्याको बाटो नरोज्नु । आत्मवल दरिलो पार्नु । दुर्भाग्यबस मैले मेरो इहलिला समाप्त पारे पनि तिमी जिवीतै रहेर समाजलाई केही दरिला उदाहरण पेश गर्नुपर्नेछ । तिमी समाजको एक न्यायकर्मी, संचारकर्मी वा कानुन निर्माता बनेर यो मुलुकमा नयाँ पहिचान बनाउनुछ । म जस्तै हेपिएर ज्यान गुमाउन बाध्य भएकाहरुको पक्षमा ओकालत गर्नुपर्ने छ । तिमीले सधैभर काँडाबीचको गुलाव बनेर बगैचा सुन्दर पार्नुछ । यो मेरो कटु बचनले तिमीलाई अति नै पोल्नेछ । मुटुमा आगो सल्कने छ तर धैर्य रहने प्रयास गर्नु । मलाई बगाईएको भेरी नदीले तिमीलाई सधै सुस्केरा हाल्नेछ । संभव भए वर्षमा एकपटक एउटा दियो बालेर फूल चढाईदिनु । मेरो जन्ती गएर मलामी बनेर फर्केका साथीहरुलाई पनि सलाम छ । सकेभने तिम्रो जलिरहेको आत्मलाई शितलता प्रदान गर्न अर्को जुनिमा भेट्ने बाचासहित सप्रेम बिदा हुन्छु । भौतिक जीवनमा तिम्रो हुन नसकेको उही तिम्रो उत्पीडित प्रेमी

स्व. नवराज विक, जाजरकोट ।
नोट : यो प्रेमपत्र बुटवलका पत्रकार भुवन कार्कीले रुकुम काण्डमा ज्यान गुमाएका नवराज विकको तर्फबाट कल्पना गरी उनकी जिवीत प्रेमिकालाई लेखेका हुन् ।