बांकेका २१ जना कोरोना संक्रमित निको भएर घर फर्किए

31

बांके, जेठ ९ । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
बांकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो । कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षिय धर्मगुरु सहित रहेका छन् । ‘आइसोलेसनमा उपचार गराइरहेका २८ जना मध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो’–आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने–‘बांकी ७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य नै छ ।’ उक्त अस्पतालमा बाँके र बर्दियाका २८ जनाले उपचार गराइरहेका छन् । कोरोना पोजेटिभ देखिंदैमा आत्तिनु नपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिने डा. थापाले बताए । प्रदेश ५ मा यसअघि रुपन्देहीका पहिलो कोरोना संक्रमित कोटहीमाइ गाउपालिकाका २५ वर्षिय युवक पनि निको भएर घर फर्किसकेका छन् । ती युवा कोरोना अस्पतालमा रहंदा लोकगीतमा नाचेको भिडियो भाइरल बनेको थियो । कोरोना पोजेटिभ देखिएपनि आफूले निको हुन्छ भन्ने आत्मविश्वास लिएको उनले बताएका थिए ।