दाङका एक स्वास्थ्यकर्मी कोरना संक्रमित

116

बुटवल, ३ जेठ । दाङका पहिलोपटक फेला परेका तीनजना कोरोना संक्रमित मध्ये एकजना काठमाडौंको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ । दाङको तुल्सीपुर उपनगरपालिका–७ घर भएका २४ वर्षिय पुरुष काठमाडौंमै बसेर अस्पतालमा जागिर गर्दै आएका थिए । उनको काठमाडौंमै भएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । संक्रमितकै वडाका बासिन्दा तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उनी काठमाडौंको कुन अस्पतालमा कार्यरत छन् भन्ने उनले खुलाएनन् ।
अन्य दुईजना संक्रमित व्यक्ति दाङको गढवा गाउंपालिका–४ र ५ का हुन् । उनीहरु भारतको मुम्बई र गोरखपुरबाट घर फर्कने क्रममा कपिलवस्तुको कृष्णनगरको क्वारेन्टाइनमा बसेका थिए । चार दिनअघि उनीहरु कृष्णनगरबाट गढवा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट गढवा–३ पुगेर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । बिहीबार उनीहरुको स्वाब संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । प्रतिष्ठानमा पोजेटिभ देखिएपछि नेपालगन्जमा पुनः परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको हो । कृष्णनगरबाट एम्बुलेन्समा गढवा जांदा ती दुईजनासंगै एम्बुलेन्समा अन्य तीनजना पनि चढेका र एक जना कालाकाटे सशस्त्र प्रहरीको क्याम्पमा झरेका खुलेको छ । अरु चार जना सबै गढवा क्वारेन्टाइनमा गएका थिए । गढवाको क्वारेन्टाइनमा ७ जना भारतबाट आएका र एकजना बर्दियाका गरी ८ जना थिए । त्यसअघि उनीहरु गोरखपुरको क्वारेन्टाइनमा पनि बसेको उनीहरुले बताएका छन् । उनीहरुसहित ९१ जनाको स्वाब परीक्षण गर्दा ८९ जनाको रिपोर्ट नेगेटिभ आएको र दुईजनामा कोरोना पोजटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । कोरोना संक्रमित दुईजनालाई दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा बनाइएको आइसोलेसन बेडमा राखेर उपचार गरिने छ । यो संगै प्रदेश ५ मा कोारेना संक्रमितको संख्या १०६ पुगेको छ । सबैभन्दा धेरै कपिलवस्तुमा ४०जना,बांकेमा ३३जना,रुपन्देहीमा २८जना,दाङमा ३जना र बर्दिया तथा नवलपरासी पश्चिममा एक–एकजनामा कोरोना संक्रमण पुष्टी भएको छ । रुपन्देहीका एकजना भने निको भएर घर फर्केका छन् ।
अनलाईनखबरबाट