नौजना संक्रमित एउटै परिवारका

207

बुटवल, जेठ १ । बुधबार सांझ सार्वजनिक रुपन्देहीका १२ जना कोरोना संक्रमित मध्ये ९ जना गैडहवा गाउपालिकाका वडा नंंं २ जोगडाका रहेको खुलेको छ । ९ जनामध्ये ३ महिला र ६ जना पुरुष हुन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् । उनीहरु एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् । उनीहरु घर आउंदै गरेको थाहा भएपछि स्थानीयले जोगडा माविको क्वारेन्टाइनमा ल्याएर राखेका गाउंपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए । जोगडा माविमा ५२ जना क्वारेन्टाइनमा थिए । यस्तै वडा नंं. ४ को नवदुर्गा माविको क्वारेन्टाइनमा ४२ जना र वडा नंं. ६ को सुर्यपुरा माविको क्वारेन्टाइनमा मा ६० जना छन् ।

नवदुर्गा मावि र जोगडा माविमा शुरुमा आएर बसेका मध्ये ४० जनाको स्वाबको पीसीआर परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । क्वारेन्टाइनमा रहेका अरु सबैको स्वाब परीक्षण गर्न बांकी रहेको गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले बताए । रुपन्देहीमै बुधबार सांझ कोरोना संक्रमण देखिएका अन्य दुईजना भीम अस्पतालको आइसोलेसन बेडमा उपचाररत व्यक्ति हुन् । उनीहरुमध्ये एक जना भारत गोण्डाका नागरिक र एकजना नवलपरासीका भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र गिरीले बताए । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ । पछिल्लोपटक बुधबार सांझ रुपन्देहीमा ९ जना पुरुष र ३ जना महिला गरी १२ जना, कपिलवस्तुमा ८ जना पुरुष र नवलपरासीमा १ जना पुरुष गरी प्रदेश ५ मा २१ जना नयाँ संक्रमित भेटिएका हुन् ।

यसअघि प्रदेश ५ मा ७२ जना संक्रमित थिए । बुधबार सांझ आएको पीसीआर रिपोर्टसंगै सँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ९३ जना पुगेको हो । नवलपरासीमा पहिलोपटक संक्रमित भेटिएका हुन् । बुधबार सांझको रिपोर्टसंगै प्रदेशमा सबैभन्दा धेरै कपिलवस्ुतमा ३८ जना, रुपन्देहीमा २८ जना,बांकेमा २५ जना,बर्दियामा एक जना र नवलपरासीमा एकजनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार दिउंसो रिपोर्ट आएका कपिलवस्तुका संक्रमित कपिलवस्तु नगरपालिका वडा नंं ४ का पुरुष हुन् । उनी मुम्बईबाट आएका थिए । उनलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो । रुपन्देहीमा कोरोना संक्रमण भएका एक जना भने निको भएर घर फर्केका छन् ।