तिलोत्तमालाई नेकपाले दियो सवा दुई लाख

42

रुपन्देही, ३० बैशाख । नेपाल कम्युनिष्ट पार्टी तिलोत्तमा नगर कमिटिले नगरपालिकाले स्थापना गरेको राहात कोषमा आर्थिक सहयोग गरेको छ । तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले २ लाख २० हजार २५० रुपैयाँ सहयोग प्रदान गरेको छ ।
राहत रकमको चेक नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालले मंगलबार नगर प्रमुख वासुदेव घिमिरेलाई प्रदान गरेका हुन् ।
त्यस अवसरमा अध्यक्ष चापागाईंले नगरका पार्टी सदस्यहरुको तर्फबाट कोरोना रोकथाम गर्न तिलोत्तमा नगरपालिकाको कोषमा सहयोग गरिएको जानकारी दिए । “विश्वभर फैलिएको कोरोना महमारी रोकथाम गर्न हाम्रो पार्टी नगर सरकारसँग हातेमालो गरेर अघि बढिरहेको छ”–उनले भने ।
नगरप्रमुख वासुदेव घिमिरेले यसअघि नै राहत कोषमा ९५ लाख रुपियाँ नगद सहयोग प्राप्त भएको र ३ हजार ८ सय जनालाई राहत वितरण गरिसकिएको बताए । नेकपा तिलोत्तमा नगरमा क्रियाशिल ४ हजार ४०५ पार्टी सदस्यहरुमध्ये प्रत्येकबाट ५० रुपियाँ पर्ने उक्त राहत रकम प्रदान गरिएको नेकपा नगर कार्यालय सदस्य मिनप्रसाद पोखरेलले जानकारी दिए ।
चेक हस्तान्तरणको क्रममा नेकपा तिलोत्तमा नगर इन्चार्ज श्याम खरेल, सहइन्चार्ज वेद गिरी लगायत पार्टी कार्यकर्ताको उपस्थिति थियो ।