रैनादेवि छहरा गापामा नेकपाको चर्को असन्तुष्टि

3448

भुवन कार्की
पाल्पा, २८ बैशाख । पाल्पाको रैनादेवि छहरा गाउँपालिकाको कार्यशैलीप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले गम्भिर असन्तुष्टि ब्यक्त गरेका छन् । नेकपाका स्थानीय तथा जिल्ला तहका नेताहरुको एक टोली आईतबार गाउँपालिकामै डेलिगेशन गएर असन्तुष्टि ब्यक्त गरेको हो ।
नेकपाका नेताहरुले गाउँपालिका अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष चेतना गाहा तथा वडाका जनप्रतिनिधिलाई समेत राखेर कार्यशैलीको चर्को आलोचना गरेका हुन् । नेताहरुले लकडाउनको अवधिमा गाउँपालिकाभित्रका दीर्घ रोगीहरुलाई दिनुपर्ने औषधी वितरण गर्न नसकेको, उनीको तथ्याङ्क संकलनमै पार्टीगत स्वार्थले काम गरेको, बिउबिजन बितरणमा पनि नेपाली काँग्रेसका कार्यकर्ता तथा भोटरलाई मात्र प्राथमिकतामा राखिएको, यस्तो विभेद खासगरी पश्चिमका वडाहरु जुठा, बल्डेङगढी र सत्यवतीमा गरिएको भन्दै चर्को आलोचना गरेका थिए ।
नेपाली कांग्रेसका तर्फबाट बिजयी गाउँपालिकाका अध्यक्ष कार्कीले बिगतमा भएका कमिकमजोरीलाई सच्चाएर जाने प्रतिबद्धता ब्यक्त गरेको नेकपाका जिल्ला नेता रामबहादुर राउतले जानकारी दिए । लकडाउनको अवधिमा दीर्घ रोगीलाई निःशुल्क औषधि बितरण गरिनुपर्नेमा त्यो प्रभावकारी हुन नसकेको, सबै वडामा विपत व्यवस्थापन समिति गठन गरेर काम गरिनुपर्नेमा त्यो हुन नसकेको, बिउबिजन बतरणमा गरिएको विभेद अन्य गरिनुपर्ने लगायतका विषयमा आफूहरुले गम्भीर रुपमा अध्यक्षको ध्यानाकर्षण गराएको नेता राउतले बताए । राउतका अनुसार जुठा, बल्डेङगढी र सत्यवतीमा बिउबिजन बितरणमा समेत पार्टीगत अस्थाका आधारमा काम गरिएको छ । त्यस्तै दीर्घ रोगीलाई औषधी बितरण गर्दा दुर्गम क्षेत्रका बासिन्दालाई बढी प्राथमिकतामा राखिनुपर्नेमा त्यसो हुन नसकेको राउतको भनाई छ ।
छलफलमा नेकपाका नेताहरु राउतसहित देवि पौडेल, टिकाराम पोखरेल, यमबहादुर राउत लगायतले बोल्दै राहत र बिउबिजन बितरणमा नेपाली काँग्रेसका कार्यकर्तालाई मात्र खोेजेर बितरण गरिनु लल्जाको विषय भएको टिप्पणी गरे । उनीहरुले तत्काल गाउँपालिकाभित्रका दीर्घ रोगीको तथ्याङ्क संकलन गरेर औषधि बितरण गर्न आग्रह गरेका छन् ।
नेकपाका नेताहरुले आउँदै गरेको हिउँदे अधिवेशनको तयारी र एजेण्डाबारे पनि गाउँपालिका अध्यक्षसंग छलफल गरेका थिए । अध्यक्ष कार्कीले तयारीबारे जानकारी गराएका थिए । नेकपा नेता राउतका अनुसार यसपटक सुन्दरढुंगा—सालझण्डी सडकलाई केन्द्र, प्रदेश र स्थानीयतहको गरी करिब १७ करोडको बजेट परेको, सिद्देश्वरमा खानेपानीको लागि एक करोड तथा सत्यवतीमा २५ लाखको बजेट परेकोले ती काम ब्यवस्थित रुपले समयमै गरिनुपर्नेमा नेताहरुले गाउँपालिकालाई सुझाएका छन् ।
गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले धेरैजसो पुरानै र केही नयाँ विषयमा छलफल भएको बताए । राहात तथा औधषि बितरणका विषयमा महत्वपूर्ण सुझाव आएकाले त्यसलाई ग्रहण गरेर काम गरिने प्रतिबद्धता जनाएको कार्कीले उल्लेख गरे ।
अध्यक्ष तथा उपाध्यक्षसहित छ वटा वडा नेपाली काँग्रेस र दुई वटा वडा नेकपाले जितेको यस गाउँपालिकामा राहत र कृषि अनुदानमा समेत राजनीतिकरण गरिएको भन्दै विगतका वर्षमा पनि आलोचना हुने गरेको थियो । यो वर्ष पनि यही बिवाद मुख्य रुपमा उठेको नेताहरु बताउँछन् ।