गुटविवाद चर्काउँदै मुख्यमन्त्री पोखरेल

504

भुवन कार्की
बुटवल, २५ बैशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री एवं नेकपाका नेता शंकर पोखरेल गुटगत राजनीतिमा सक्रिय भएका छन् । विगतदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको गुटमा सक्रिय रहँदै आएका मुख्यमन्त्री पोखरेले हाल पार्टीको नेतृत्वमा रहेका नेताहरुलाई चिड्याउने गरी विहीबार विहान काठमाडौंको एक टेलिभिजनलाई अन्तरवार्ता दिएका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पूर्व एमालेमा खेलेर भाँडभैलो’ भएको भन्ने आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले दल त्याग सम्बन्धी ल्याएको अध्यादेश फिर्ता गर्न बाध्ये भएपछि काठामाडौं गएर आफ्नो गुटलाई सक्रिय पारेका पोखरेलले पत्रकार जिवराम भण्डारीसंग अन्तरवार्ता दिंदै पूर्व एमालेको घरझगडामा रहेका नेतालाई पूर्व माओवादी केन्द्रको नेतृत्वले आफ्नो अनुकुल प्रयोग गरेकोेले समस्या उत्पन्न भएको दावी गरेका छन् ।
पूर्व एमालेहरु संगठनात्मक परिपार्टीबाट आएको तर माओवादी केन्द्र आन्दोलनबाट आएको र संगठनात्मक प्रणालीमा स्थापित नभइसकेकोले अन्तरसंघर्ष बढेको टिप्पणी उनले गरेका छन् । पूर्व एमाले भने लोकतान्त्रीक पद्धतीले विकास भएको उनको तर्क छ । पूर्व माओवादी केवल आन्दोलनका रुपमा मात्र आएको हल्का टिप्पणी उनले गरेका छन् । पार्टी एकता प्रक्रिया तीन महिनामा सक्नुपर्ने भएपनि शक्ति संघर्षका कारण दुई वर्षसम्म हुन नसकेको उनले तर्क गरेका छन् ।
पार्टीमा पूर्व एमाले भित्रैका नेताहरु झालनाथ खनाल, माधव नेपाल र बामदेव गौतमको झगडाबारे सोधिएको प्रश्नमा पोखरेलले यो पुरानै झगडा भएको बताएका छन् । नयाँ पार्टी बनेपछि त्यसले झन् उग्र रुप लिएको उनले संकेत गरेका छन् ।
पूर्व एमालेमा पूरानै झगडा भनेर दाबी पनि गर्ने र प्रचण्डलाई मात्र दोष दिएर उनले आफ्नो ओली गुटलाई भने बचाउ गर्न खोजेका छन् । दुई अध्यक्षबीचको शक्ति संघर्षले पार्टी एकता प्रक्रिया पुरा नभएको दावी गर्ने मुख्यमन्त्री पोखरेल आफूले भने आधा कार्यकाल बितिसक्दा पनि प्रदेशको न्वारन समेत गर्न सकेका छनैन् । प्रदेशमा काम गर्न उनलाई पूर्व माओवादीले होइन पूर्व एमालेकै नेताले असह्योग गरेका छन् । आफ्नै गुटका नेता पार्टी महासचिव विष्णु पोडेलसंग प्रदेशको स्थायी मुकामका लागि लडिरहेका पोखरेलले पार्टी अध्यक्षहरुलाई तीन महिनाको काम दुई वर्षमा गर्न नसकेको टिप्पणी गरेका छन् । ‘पूर्व एमाले र पूर्व माओवादी’ शब्दले एकअर्कामा दोषारोपण गर्न खोज्नुले उनको गुटगत स्वार्थ प्रष्ट हुन्छ । उनले माधव नेपाल र झलनाथ खनाले प्रचण्ड र ओलीलाई फुटाउन उद्धत रहेको समेत संकेत गरेका छन् । यसले गुटबन्दीलाई बढावा दिन थप मद्दत गरेको छ ।

यसअघि पनि विभिन्न विवादित फेसवुक स्टाटस लेखेर गुटगत राजनीति गरिरहेका मुख्यमन्त्री पोखरेलले विहीबार दिएको अन्तरवार्ता उनका गुटका कार्यकर्ताले मात्र शेयर गरेर प्रचार गरिरहेका छन् । यसअघि पूर्व माओवादीलाई ‘पूर्व समूह’ भनेर टिप्पणी गर्ने गरेका पोखरेलले यसपटक भने पूर्व माओवादी भनेरै दोषारोण गरेका छन् । पार्टीलाई फुटबाट बचाउन दुई अध्यक्ष सक्षम हुने विश्वास भने उनले ब्यक्त गरेका छन् ।
यो पनि पढ्नुहोस्

‘संकटको बेला मुख्यमन्त्री नै गुटगत राजनीतिमा !’