बुवाको आर्दश पछ्याउँदै उप्रमुख रम्भा

1552

भुवन कार्की
बुटवल, २४ बैशाख । सामान्य चिया पसलबाट ब्यवसाय शुरु गरेर विभिन्न सामाजिक तथा आध्यात्मिक क्षेत्रमा क्रियाशील सामाजिक ब्यक्तित्व नवलपरासीका गोपालनाथ शर्माको यही बैशाख ७ गते निधन भएको छ । ७० वर्षको उमेरमा निधन भएका शर्मा पुराना समाजसेवी हुन् । गुल्मीको ग्वाधा जैथानबाट ३२ सालमा नवलपरासीको परासीमा बसाई सरी आएका शर्माको जीवन नैकै संघर्षपूर्ण रह्यो । परासीमा चिया पसलबाट शुरु गरेको ब्यवसाय बिस्तारै विभिन्न क्षेत्रमा फिजियो र एक सफल ब्यवसायी बन्न उनी सफल भए । गार्मेन्ट, कोल्डस्टोरलगायतको ब्यापार गरेर सफल ब्यवसायी बने । उनी विभिन्न सामाजिक काममा लागेर गरिब तथा मजदुरहरुलाई सहयोग गर्ने गर्थे । तर समाजसेवामा पुरा नभएको धोको उनकी जेष्ठ सुपुत्री रम्भा कुँवरले सम्हालेकी छन् । सानैदेखि राजनीतिमा लागेर समाजसेवा गर्ने धोको बोकेकी रम्भालाई पिताको आर्शिवाद अहिले लागेको छ । देश संघीय संरचनामा गएपछि भएको पहिलो स्थानीय तहको निर्वाचनमा रामग्राम नगरपालिकाको उपप्रमुख बिजयी भएकी छन् । तर कार्यकाल पुरा नहुँदै बुवालाई गुमाउनुको बिघ्न पींडा उनमा छचल्किएको छ ।
रम्भाको बेदना
गोपालनाथका ७ बहिनी छोरी मात्र थिए । जसमध्ये रम्भा जेठी हुन् । परिवारको जेष्ठ सन्तान भएकाले पनि उनमा धेरै जिम्मेवारी थियो । उनले यो बहन गर्दै गइन् । एलएलसीसम्मको औपचारिक शिक्षापछि बैवाहिक सम्बन्धमा गाँसिएकी रम्भाले विभिन्न सामाजिक क्षेत्रमा क्रियाशीलता देखाईरहिन् । वि.सं.२०५७ सालदेखि उनी विभिन्न संघसंस्थामा जोडिएर काम गर्न थालिन् । सधै वुवाको प्रेरणा ग्रहण गरेर समाजसेवामा लाग्ने तीब्र चाहना भएकी रम्भाले विभिन्न सहकारी, अखण्ड सुख केन्द्र, लघुबित्त बैंक लागयतका संघसंस्थामा लामो समय काम गर्दै राजनीतिमा पनि क्रियाशील बनिरहिन् । उनी रामग्राम जेसिसको महासचिवको भूमिकामा पनि काम गरिन् । विवाहपश्चात नवलपरासीकै रामग्राम १५ सुक्रौलीमा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रम्भा कुँवर रामग्राम नगरपालिकाको उपप्रमुख भएसंगै समाजसेवाको मुख्य उद्देश्य पुरा गरिन् । खासगरी महिलाहरुको हकअधिकार र नेतृत्व विकासमा चासो दिने रम्भालाई सधै आफ्ना वुवाले हौसला दिने गरेको उनी बताउँछिन् । समाज परिवर्तनमा लागिरहन वुवाले सधै प्रेरणा दिने गरेको उनले स्मरण गर्छिन् । मलिन मुन्द्रामा उनले भनिन्, ‘समाजसेवाको लागि मलाई सधै प्ररेणा दिने बाबाले छोडेर जाँदा निकै पींडा हुँदोरहेछ ।’ आफू उपप्रमुख पदमा भारी मतान्तरले बिजयी हुुँदा बाबाको अंगालोमा धेरैबेर रोएको याद गर्दा उनी भक्कानिन्छीन् ।
रम्भाका अनुसार गोपालनाथ आध्यात्मिक कार्यमा पनि लागेका थिए । दाउन्नेको सितला माताको ध्यानमा फलफूलमात्र खाएर १० वर्ष निराहार व्रर्त बसेको कुँवर बताउँछिन् । आफू यो स्थानसम्म आउन हरेक कोणबाट बुवाले उत्प्रेरणा जगाएको स्मरण गर्दै आमा थमकुमारी शर्माको पनि हौसला पाएको अनुभव सुनाउँछिन् ।
उपप्रमुख रम्भाले आफ्नो बुवाकै प्रेरणाले महिला मुक्तिको अभियानमा धेरै काम गर्न सफल भएको बताउँछिन् । सुक्रौलीमा महिलाहरु घुम्टोमा सीमित हुँदा जागरणको लागि आफूले धेरै पहल गरेको उनी सुुनाउँछिन् ।
सातै बहिनीले गरे काजकिरिया

नवलपरासीमा किरिया बसेका छ बहिनी

बुवा गोपालनाथको निधनपछि सातै बहिनी छोरीले काजकिरिया गरे । छोरी पनि छोरासरह हुन् भन्ने मान्यता अनुरुप छ बहिनीले एकैठाउँमा काजकिरिया गरे भने जापानमा रहेकी छोरी चुनु शर्मा सुवेदीले उही ठाउँमा किरिया बसिन् । उनको गतवर्ष मात्र विवाह भएको थियो । सामाजिक पुरानो परम्परालाई तोड्दै सबै दिदीबहिनीले काजकिरिया गरेको रम्भा कुँवरले बताईन् । छ बहिनीको विवाह भइसकेको भएपनि माइली बहिनीले भने विवाह नै नगर्ने घोषणासहित आमाको सेवामा लागेकी छन् । कान्छी बहिनीको विवाह गर्न बाँकी छ  । एक बहिनी बुटवलमा इन्जिनीयर छिन् ।

जापानमा किरिया बसेकी चुनु शर्मा सुेवदी

बुवाको प्रेरणाले नै आफू समाज सेवामा लागेको बताउने कुँवरले राजनीतिलाई भन्दा बढी समाजसेवानै प्राथमिकता दिएको बताउँछिन् । उनका पती कमलसिंह कुँवर पनि राजनीतिमै सक्रिय छन् । नेपाली काँग्रेसको तर्फबाट सुक्रौलीको पूर्व गाविस सभापति समेत उनी हुन् ।
आठ महिना क्यान्सर जस्तो दीर्घ रोगले थलिएपछि आफ्ना पिताको निधनले बिक्षिप्त बनेकी रम्भा कुँवरले उनको समाजसेवाको चाहना आफूले पुरा गरेर छाड्ने अठोट लिएकी छन् । अहिले विश्वब्यापी रुपमा फैलिएको कोरना भाइरस संक्रमणको जोखिमले देश लकडाउनमा छ । यो बेला गरिव तथा मजदुरहरुलाई राहात बाँढ्न उनी क्रियाशील छिन् । यसअघि रामग्राम नगरपालिकाको तर्फबाट बितरण भएको चामल कुहिएको पाईएपछि यस प्रकरणमा छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ भन्ने आवाज पनि कुँवरले उठाएकी थिइन् ।