ट्याङ्कर ब्यवसायी संघद्धारा ५१ हजार राहात सहयोग

379

तिलोत्तमा, २ बैशाख । रुपन्देहीको तिलोत्तमास्थित पश्चिमाञ्चल ट्याङ्कर ब्यवसायी संघ भलवारीले तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोरना संक्रमण राहात कोषमा नगद ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
नयाँ वर्षको अवसरमा शुभकामना सहित संघका उपमहासचिव प्रेम जीएम, कोषाध्यक्ष धनेन्द्र पौडेल, सदस्य विष्णु पौडेल लगायतको टोलीले वडा नं. ७ का अध्यक्ष दुर्गा पाण्डेको रोहवरमा उक्त रकमको चेक नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई सोमबार हस्तान्त्रण गरेको हो ।
उक्त अवसरमा बोल्दै नगप्रमुख घिमिरेले नगरपालिकाले स्थापना गरेको राहात कोषमा हालसम्म करिव ५० लाख संकलन भएको बताए । कडाउनको समयमा दैनिक ज्यालादारी गरेर खाने मजदुरहरु मर्कामा परेको भन्दै उनीहरुलाई राहात बितरणको कार्यक्रम पनि नगरपालिकाले जारी राखेको उनले बताए ।
नगरपालिकाको आह्वानअनुसार नगरमा रहेका सहकारी, बैंक तथा वित्तीय संस्था, व्यक्ति, विद्यालय, क्लव, आमा समूह, व्यवसायिक प्रतिष्ठानले नगरपालिकाको कोषमा राहत रकम जम्मा गर्ने गरेका छन् । कोषलाई कोरोना महामारी रोकथाम, पूर्वतयारी तथा उपचारको सन्दर्भमा मजबुद बनाउन नगरपालिकाले गरेको अपिलअनुसार हालसम्म करिव ५० लाख नगद संकलन भएको हो । नगदको अतिरिक्त ७६ क्विन्टल चामल, एक क्विन्टल दाललगायतका खाद्यबस्तु समेत नगरपालिकालाई विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरुले प्रदान गरेका छन् ।

तस्विर सौजन्य :  प्रेम जीएम