नौ दिनसम्म किन उठेन बाबुरामको शव ?

409

रुपन्देही, २४ चैत । बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पताल बुटवलमा चैत १६ गते दिउसो मृत्यु भएका पाल्पा रिब्दिकोटका ३४ वर्षिय बाबुराम थापाको शव नौ दिन बितिसक्दा पनि उठ्न सकेको छैन । मृतकका परिवारले अस्पतालको लापरवाहीका कारण थापाको मृत्यु भएको भन्दै छानवीन गर्न र राहत दिन माग गरिरहेका छन् ।
यस घटनालाई मिलाउन केही अधिकारकर्मीहरुले प्रयास गरिरहेका छन् तर प्रयास सफल हुन सकेको छैन । आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै मृतककी पत्नी रिता थापा, रिताका दाजु कमल टण्डन लगायत आफन्तले कोरोना विशेष अस्पतालले बाबुराम थापा भर्ना भएदेखि मृत्यु हुदासम्मको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।
‘अस्पतालले उपचारमा लापरवाही गरेको होइन भने सीसीटीभी फुटेज सार्वजनिक गरेर हाम्रो चित्त बुझाउनुपर्छ’–मृतकका जेठान कमल टण्डनने भने–‘अप्ठेरो परिस्थितिको बहानामा मान्छेको ज्यानमाथि भएको लापरवाही र खेलवाडलाई हामी कदापी छाड्दैनौ ।’ थापाको उपचारबारे मृतककी पत्नी,आफन्त,सरोकारवाला र स्वास्थ्य क्षेत्रका जानकार सबैले अस्पतालको लापरवाहीका कारण ज्यान गएको कुरामा एकमत रहेकाले कि त निष्पक्ष छनवीन हुनुपर्ने कि त आशंका हटाउन सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रेहको टण्डनले बताए ।
उनले बाबुरामको स्वाब परीक्षणका लागि पठाइएको हो भन्नेमा पनि शंका रहेकाले त्यसको पुष्टीका लागि सीसीटीभी फुटेज हेर्न पाउनुपर्ने तर्क गरे ।
कोरोनाको आशंकामा बाबुरामले उपचारै नपाएर ज्यान गुमाउनु परेको घटनालाई अहिले त्यत्तिकै छाड्ने हो भने भविष्यमा सांच्चै कोरोनाको संक्रमण फैलिएको अवस्थामा अस्पताल र डाक्टरले विरामीहरुको सांच्चै उपचार गर्लान् त भन्ने गम्भीर प्रश्न उब्जेको हुंदा त्यसो हुन नदिनका लागि पनि यो घटनाको छानवीन गरी सत्यतथ्य बाहिर ल्याउननैपर्ने उनले बताए ।
पुर्व सांसद तथा अधिकारकर्मी विनोदले मृतक परिवारका मागबारे सरकारी पक्षलाई जानकारी गराउंदा मृतक पत्नीलाई योग्यता अनुसारको रोजगारी र दुई नाबालक छोरालाई कम्तीमा १२ कक्षासम्म अध्ययनको व्यवस्था गर्न तयार रहेको तर अन्य माग सम्बोधन गर्न नसकिने जवाफ आएको बताए । पहाडीले भने, ‘मृतकको परिवार र सरकारी पक्षबीच सहमति गराउने हाम्रो प्रयास जारी छ, सोमबार (आजै) सांझसम्म सहमति हुन सक्छ ।’ कोरना संक्रमणको खतरा बढीरहेका बेला यस्ता घटनाहरु लम्बिन नहुने र यसले गलत सन्देश जाने भएकाले पनि दुबै पक्ष संवेदनशील हुनुपर्ने पहाडीले उल्लेख गरे ।
मृतक परिवारले घटनाको छानविनसहित २५ लाख क्षतिपूर्ती माग गरेका छन् । केही राजनीतिकर्मीले मृतकका परिवारलाई सहज रुपमा मिल्न नदिन गरेको चलखेलका कारण पनि घटना लम्बिएको हो । प्रतिपक्ष नेपाली काँग्रेससहित केही साना राजनीतिक दलका नेताको उक्साहटले पनि बाबुरामको शव उठ्न ढिलाई भएको बताइन्छ ।
घटनाको प्रकृति हेर्दा कोरना अस्पतालमा बाबुरामको उपचारमा लापरबाही भएकै देखिन्छ । यसर्थ घटनाको छानबिनसहित स्वभाविक राहात मृतकका परिवारलाई दिइनुपर्छ । तर घटनालाई लम्ब्याएर लाशमाथि कसैले पनि राजनीति गरिरहनु उचित हुने छैन ।