तामनगरमा ५० वेडको क्वारेन्टाइन निर्माण

4333

बुटवल, चैत २२ । बुटवलले वडा नम्बर १२ को तामनगरमा रहेको कोरिया—नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी कलेजको उपयुक्त भवनमा ५० वेडको क्वारेन्टाइन निर्माण गरेको छ । भोजनालय, आबाँस तथा शौचालय र ज्वरो क्लिनिक सहितको प्राथमिक स्वास्थ्य सेवासमेत उपलब्ध गराउने गरि क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष दुर्गा सुवेदीले जानकारी दिए । बुटवलका विभिन्न स्थानमा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । जहाँ शुक्रबार मात्रै ६१ जनाले परीक्षण गराएको स्वास्थ्य शाखाका अधिकृत कुन्दनकुमार सिंहले जानकारी दिए । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा शनिबार पनि फिवर क्लिनिक सञ्चालन गर्ने तयारी भइरहेको सिंहले जानकारी दिए । यसैबीच धागो कारखानाको खाली भवनमा सञ्चालनमा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा १० वटा आइसीयू वेड थप गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रादेशिक अस्पतालका अध्यक्ष तथा कोरोना विशेष अस्पताल सञ्चालन एवम् समन्वय कार्यदलका सहसंयोजक सूर्यबहादुर भट्टराईले जानकारी दिए ।
उता मापदण्डअनुसार किनमेल नभएको गुनासो आए लगत्तै बुटवल उपमहानगरपालिकाले बुटवल कृषि थोक बजार केन्द्र बन्द गर्ने भएको छ । उक्त केन्द्रको सन्चालक समितिको शनिबार बसेको वैठकको निर्णय अनुसार केन्द्र बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ । हरियो साग सब्जि तरकारीको सुरक्षित कारोवार गर्ने भन्दै खुला राखिएकोमा हाल उक्त कारोवारमा बढी भिडभाड गरि कारोवार भइरहेकाले बन्द गर्नुपरेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए ।