रुपन्देहीका इट्टा उद्योगीले गरे लकडाउनको अवज्ञा

1024

भुवन कार्की
बुटवल, १५ चैत । कोरना संक्रमणको त्रासले अहिले नेपाल लकडाउन गरिएको छ । अत्यावश्यक काम बाहेक मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ । तर रुपन्देहीका इट्टा व्यवसायीले यसलाई अंटेर गरेर उद्योग संचालन गरिरहेका छन् ।
सयौं मानिसले एकै ठाउँमा काम गर्ने इट्टा उद्योगमा चरम लापरवाही गरिएको छ । घरबाहेक बाहिर समूहमा नबस्न भनेर स्थानीय सरकारहरुले पनि सूचना सन्देश दिइरहेका छन् । तर इट्टा उद्योगीले यसको अबज्ञा गरेका छन् ।
रुपन्देहीमा ५२ वटा इट्टा उद्योगहरु रहेका छन् । तीमध्ये आधाजसो संचालनमा रहको बताइन्छ । इट्टा ब्यवसायी संघ रुपन्देहीका द्धितीय उपाध्यक्ष समेत रहेका देवदहको पुन इट्टाका संचालक मिनबहादुर पुनले आफ्नो उद्योगमा कामदार धेरै नभएको बताए । उनले २०÷२२ जना भएको दाबी गरे । उद्योग भने संचालनमा रहेको उनले बताए । तिलोत्तमाको कान्छीबजारमा रहको एमबी इट्टाका ब्यवस्थापक विष्णु आर्चायले आफ्नो उद्योगमा दुई सयजना कामदारले काम गरिहेको बताए ।
तिलोत्तमाकै गंगोलियामा रहेको बीबीएफ् इट्टा उद्योगका संचालक मुक्ति बस्यालले आफ्नो उद्योगमा एक सय पच्चीस जनाले काम गरिरहेको बताए ।
उद्योगीहरुको अनुसार यी उद्योगहरुमा धरैजसो भारतीय मजदुरहरुले काम गर्दछन् । उनीहरु आवतजावत गर्दा झनै कोरना संक्रमणको जोखिम झन् बढेको छ । तर व्यवसायीले यसलाई गम्भीर रुपमा लिएका छैनन् । बीबीएफ् इट्टाका संचालक बस्यालले भने, ‘हाम्रा कामदार होलीमा भारत गएका धेरैलाई यता नआउन भनेका छौं ।’ यस्ता हल्का प्रतिक्रिया दिएर उद्योगीहरुले मजदुरहरुको स्वास्थ्यमाथि खेलवाड गरिरहेका छन् । गंगोलियाका स्थानीय बिवेक थापाले भने, ‘स्थानीय निकायले गरेको खबरदारीलाई पनि लत्याएर इट्टा उद्योगीले उद्योग संचालन गरिरहेका छन्, यसले गर्दा हामीलाई समेत जोखिम बढेको छ ।’
यता तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले यदि उद्योग संचालनमा रहेको भए तत्काल बन्द गराइने बताए । उद्योगीले अंटेर गरे आफ्नो नगरभित्रका उद्योगहरुमा प्रहरी प्रशासनको सहयोग लिएर भएपनि बन्द गराईने उनको भनाई छ । तिलोत्तमामा पाँचवटा उद्योगहरु संचालनमा छन् ।
प्रत्येक वर्ष हुने हिंउदे वर्षाको निहुँ बनाएर लाखौं काँचा इट्टा क्षति भएको भन्दै वर्षेनी मूल्यवृद्धि गर्ने यी इट्टा उद्योगीले यो संकटको बेला पनि मजदुरहरुको स्वास्थ्यमा खेलवाड गरिरहेका छन् ।
फाइल तस्विर पनि ।