लेकाली काण्ड : सत्ताउन्मातको नमूना

442

बुटवल, ५ चैत । विभिन्न मेला महोत्सवमा हुने सांगीतक कार्यक्रमको ठेक्का नपाए उपद्रो गर्ने बुटवलका कलाकार नारायण खनाल लेकालीको केही दिन अघि सार्वजनिक भएको अडियो काण्डबारे संसदमा पनि चर्को बिरोध भएको छ ।
कम्युनिष्ट सरकारको पैसामा कांग्रेसका कलाकारलाई स्टेजमा उफारेकाले बुटवलको मेला बन्द गराएको भन्न लेकालीको फोन संवाद काण्डले प्रदेश सभामा प्रवेश पाएको हो । मंगलबार बसेको प्रदेश सभा वैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु फखरुद्दिन खान र बीरबहादुर रानाले उक्त अडियो काण्डमा प्रदेश सरकारका दुईजना मन्त्रीहरुको नाम पनि जोडिएकाले निष्पक्ष छानवीन गर्न सरकारसंग माग गरे ।
रुपन्देही ५ का सांसद फकरुद्दिन खानले नेकपा निकट कलाकार नारायण खनाल लेकालीले बोलेको कुरा व्यक्तिगत नभई सत्ता र शक्तिको आडमा राज्य आतंकको नमूना भएको टिप्पणी गरे । जनताको करबाट उठेको रकमलाई कम्युनिष्ट सरकारको पैसा भनेर भन्नु आपत्तिजनक भएको र कम्युनिष्टका कलाकारलाई स्टेजमा नबोलाएका कारण मन्त्री र सिडिओलाई दवाव दिएर मेला बन्द गराउनुले विधिको शासन र कानूनी राज्यको उपहास भएको सांसद खानले तर्क गरे । ‘जनताले तिरेको करलाई पार्टीको पैसा भन्ने, यो प्रवृत्ति वहुमतको दम्भमा कम्युनिष्टहरुको राज्य आतंकको नमूना हो’–सांसद खानले भने–‘अडियोमा दुईजना मन्त्रीको नाम पनि जोडिएको छ, त्यसैले यसको निष्पक्ष छानवीन हुनुपर्छ ।’ कलाकार लेकालीले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी र सामाजिक विकास मन्त्री सुदर्शन बराल र सिडिओ महादेव पन्थलाई फोन गरेर÷थर्काएर मेला बन्द गराएको फोन संवादमा बोलेका थिए ।
पाल्पाका सांसद बीरबहादुर रानाले सत्तारुढ पार्टी सम्वद्ध कलाकारको अडियो सुन्दा मुलुकमा कोरोना भाइरस भन्दा पनि खतरानाक रुपमा कम्युनिष्ट कार्यकर्तामा वहुमतको आडमा मनपरी गर्ने मनोवृत्तिले सीमा नाघेको आभास भएको बताए । ‘कम्युनिष्ट कार्यकर्ताले मन्त्री र सिडिओलाई थर्काउने, युवा संघ परिचालन गरेर मेला बन्द गराउनेसम्मका हर्कत गर्नु कोरोना भाइरस भन्दा खतराको विषय हो’–सांसद रानाले भने–‘मन्त्रीहरुको समेत नाम मुछिएको छ, छानवीन गरेर सत्य तथ्य बाहिर ल्याउनुपर्छ ।’ लेकालीले मेला महोत्सवमा नेकपा निकट कलाकारलाई नबोलाए प्रदेश ५ भरि नै मेला महोत्सव गर्न नदिने धम्की दिएका छन् । उनले कम्युनिष्टको ठाउंमा कांगे्रसका कलाकारलाई स्टेजमा बोलाउंदा ढुंगामुढा खानु स्वभाविक भएको पनि बोलेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ ले फागुन २१ गतेदेखि चैत २ गतेसम्म सञ्चालन गर्ने गरी शुरु गरेको मेला एकहप्ता नहुंदै स्थगित भएको थियो । वैठकमा बोल्दै सांसद डिल्लीबहादुर चौधरी, रामजी घिमिरे, कूलप्रसाद पोखरेल,विजयबहादुर यादव, धनकली चौधरी, दीपा विक, भोजप्रसाद श्रेष्ठ,धर्मबहादुरलाल श्रीवास्तवले असिना पानीले अर्घाखांचीको शीतगंगा नगरपालिका र भूमिकास्थान गाउंपालिकामा एक–एक जना गरी दुईजनाको र बर्दियामा असिनापानीसंगै चट्याङ पर्दा दुईजनाको मृत्यु मृत्यु भएको र अन्नबालीमा ठूलो क्षति भएकाले राहत तथा क्षतिपुर्ति दिन सरकारको ध्यानाकर्षण गराए ।