तिलोत्तमा देशकै पहिलो शुन्य पोलिथिन नगर

141

रुपन्देही, ३० फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो शुन्य पोलिथिन र पूर्ण सरसफाईउन्मुख नगरपालिका घोषणा भएको छ । शुक्रबार नगरपालिकामा औपचारिक समारोहका बीच संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई शुन्य पोलिथिन र पूर्ण सरसफाईउन्मुख नगरपालिका घोषणा गरे ।
जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रुपन्देहीले खुला पोलिथिन शुन्य अवस्था र पूर्ण सरसफाईका ६ वटा सूचकहरु पूरा गरेको भन्दै तिलोत्तमालाई खुला पोलिथिन शुन्य र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा समिति अध्यक्ष एकराज विश्वकर्मा र सदस्य–सचिव अरुणकुमार कर्णले प्रमाणित गरेको प्रमाणपत्र नगरप्रमुख बासुदेव घिमिरेलाई प्रदान गरिएको हो । यसअघि समितिका पदाधिकारी एवं विज्ञ सहभागी टिमले तिलोत्तमाको १७ वटै वडाको अनुगमन गरेको थियो । नगरपालिकाले बनाएको कार्यविधिमा खुला रुपमा पोलिथिनजन्य फोहोर नफालिएको अवस्थालाई शुन्य पोलिथिन भनिने उल्लेख छ ।
सात महिनाको अवधिमा नगरबासीको घर, टोल, खेत, कुलो, नहर, वन–जंगल, सडक, सार्वजनिक स्थलबाट झण्डै ८० हजार बोरा पोलिथनजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेपछि नगरलाई शुन्य पोलिथिन घोषणा गरिएको हो । कार्यक्रममा मन्त्री भुसालले प्लास्टिकजन्य फोहोर व्यवस्थापन र सरसफाईंमा तिलोत्तमाबाट नयाँ राष्ट्रिय अभियान प्रारम्भ भएको उल्लेख गरे ।
तिलोत्तमाबाट सरसफाईंको ईतिहासमा नयाँ युगको सुरुवात् भएको बताउँदै शुन्य पोलिथिन अभियान नागरिकको चेतनास्तर र दायित्वबोधसँग जोडिएको बताए । नगरलाई शुन्य पोलिथिन बनाउनुले मानव स्वास्थ्य, वातावरण र माटोको सुरक्षा र संरक्षणमा धेरै ठूलो उपलब्धी भएको टिप्पणी गरे । ‘मानव स्वास्थ्य, वातावरण र जमिन मात्र होइन, जल र जंगलको सबैभन्दा हानिकारक ठूलो शत्रु प्लास्टिक नै हो’–मन्त्री भुसालले भने–‘तिलोत्तमाले शुरु गरेको शुन्य पोलिथिन अभियान सिंगो देशले अनुशरण गर्ने खालको राष्ट्रिय महत्वको छ ।’ प्लास्टिकजन्य फोहोरको व्यवस्थापनको विषय अब सरसफाईसंग मात्र होइन राष्ट्रिय योजना र विकासको एउटा महत्वपूर्ण पक्ष हुनुपर्ने मन्त्री भुसालले बताए । शुन्य पोलिथिन अभियान सजिलो र सामान्य विषय नभएको भन्दै उनले यसलाई ‘मूर्खतापूर्ण काम’को संज्ञा दिंदै सराहना गरे । ‘कसैले न कसैले यो मूर्खतापूर्ण काम शुरुवात गर्नैपथ्र्यो,त्यो तिलोत्तमाबाट शुरु हुनु देशकै लागि गर्र्वको विषय हो’–मन्त्री भुसालले भने–‘यो अभियानले भावी पुस्तासम्मलाई फाइदा पुग्नेछ, राष्ट्रिय योजनामा प्रभाव पार्नेर्छ ।’ प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले सफा, सुन्दर र संस्कारयुक्त व्यवहारले मात्र पर्यटन प्रवद्र्धन गर्न सकिने बताउँदै तिलोत्तमाबाट शुरु भएको शुन्य पोलिथिन अभियान राष्ट्रव्यापी हुने विश्वास व्यक्त गरे । प्रदेश सांसद दधिराम घिमिरेले शुन्य पोलिथिन अभियान तिलोत्तमा आसपासका अन्य पालिकाहरुले पनि सञ्चालन गर्नुपर्ने बताउँदै यो अभियान सोंच, आनीबानी रुपान्तरणसँग जोडिएको बताए । जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले लुम्बिनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रख्यात बनाउन शुन्य पोलिथिन अभियान रुपन्देहीका सबै स्थानीय तहहरुमा सञ्चालन गर्नुपर्ने बताउँदै यसमा आफूले अग्रसरता लिने प्रतिबद्धता जनाए ।
नगर प्रमुख बासुदेव घिमिरेले नगरबासीको सक्रिय सहभागिताका कारण शुन्य पोलिथिन अभियानले मूर्त रुप लिएको बताउँदै यो अभियानमा झण्डै एकलाख नगरबासी सहभागी भएको बताए । नगरलाई स्वच्छ र हरियालीयुक्त बनाउन समुदायमा आधारित वृहत सरसफाई अभियान,सार्वजनिक स्थानमा स्मार्ट शौचालय,तीन लाख बृक्ष रोपण कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।
अनुगमनमा संग्लन प्रा.डा. भैया खनालले शुन्य पोलिथिन अभियानले कृषि प्रणाली तथा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै यसको निरन्तरताका लागि नगरबासी आफैं क्रियाशील रहनुपर्ने बताए ।
शुन्य पोलिथिन घोषणासंगै नगरभित्र संकलन हुने प्लास्टिकको व्यवस्थापनका लागि वडा नंं ८ मा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आइसकेको घिमिरले बताए ।सार्वजनिक स्थलमा जथाभावी फोहोर फ्याक्नेलाई नगद जरिवाना गर्न आवश्यक स्थानीय कानुन निर्माण गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताइन् । बालबालिकालाई पोलिथिन जथाभावी फाल्नु हुँदैन भन्ने सिकाउन स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समेटिएको र विद्यालय तथा टोल–टोलमा माई पकेट, माई फष्ट डष्टबिन अर्थात् मेरो खल्ती, मेरो पहिलो डष्टबिन भन्ने कुराको प्रचार गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । वातावरणको क्षेत्रमा कार्यरत संस्था सिम नेपालसँगको सहकार्यमा सात महिनादेखि शुन्य पोलिथिन अभियान चलाइएको र मुलुकका ७५३ स्थानीय तहमध्ये पहिलो पटक तिलोत्तमा शुन्य पोलिथिन नगर बनेको सिम नेपालका अध्यक्ष निपेश ढाकाले बताए ।