प्रदेश सकारको मौन सर्मथनमा चलको महोत्सव रोकियो, क्षतिपूर्ती माग

228

भुवन कार्की
बुटवल, २८ फागुन । प्रदेश सरकार आफैले गरेको निणर्य कार्यान्वयन नगरी बुटवलमा महोत्सव गर्न दिएको मौन समर्थनलाई जिल्ला प्रशासन कार्यालयले भने तोडिदिएको छ ।
कोरोना संक्रमणका कारण प्रदेश नंं ५ ले गत फागुन १९ गते मेला महोत्सव तथा भिडभाडजन्य कार्यक्रम नगर्न आग्रह गरेपनि प्रदेश सरकारकै सहयोगमा फागुन २१ गतेदेखि बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि व्यापार एवमं  पर्यटन महोत्सव शुरु भएको थियो । महोत्सव शुरु गर्नुअघि मुख्यमन्त्री शंकर पोखरेल लगायत अन्य मन्त्रीलाई समेत भेटेका आयोजकलाई प्रदेश सरकारको ‘मौन स्वीकृति प्राप्त’ भएको थियो । जसको कारण आयोजकले महोत्सव प्रभावित नहुने भन्दै सामाजिक संजालबाट समेत प्रचार गरेका थिए ।
आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश ५ की अध्यक्ष शान्ति शर्माले मुख्यमन्त्रीसंग भेटेर छलफल गरेको र महोत्सव नरोकिने भन्दै फेसबुकमा तस्विर सार्वजनिक गरेकी थिइन । प्रदेश सरकारको मौन समर्थनमा चलिरहेको महोत्सव ६ दिनपछि जिल्ला प्रशासन कार्यालयले रोकिदिएपछि भने आयोजकले क्षतीपूर्ति माग गरेका छन् ।
आयोेजकले मुख्यमन्त्रीसंग गरेको छलफलले महोत्सव गर्न सहमति दिएपनि प्रशासनले रोक लगाएको भन्दै गुनासो गरेका छन् । मंगलबार पत्रकार सम्मेलन नै गरेर आयोजकले प्रदेश सरकारको आलोचना गरे । मेलामा गरिएको लगानीको प्रदेश सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गर्दै मेला सचिवालयमा मंगलबार पत्रकार सम्मेलन गरिएको थियो ।
स्वीकृति लिएको मेला समापन गर्नको लागि समय नपाएको गुनासो अध्यक्ष शर्माले गरिन् । उनले महोत्सव सञ्चालनको लागि ८२ लाख खर्च भईसकेकोले उक्त खर्च प्रदेश सरकारले दिनुपर्ने माग गरिन् । यसबारे प्रदेश सरकारले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

यो पनि पढ्नुहोस्

आफ्नै निर्णय कार्यान्वयन गर्दैन प्रदेश ५ सरकार