बुटवल नगरको १५ वर्षे योजना एकवर्षमै तुहियो

363

 

बुटवलका सोलार सडकबत्ती निभे
भुवन कार्की
बुटवल, २७ फागुन । शिद्धार्थ राजमार्गको बुटवल—भैरहवा सडक खण्ड अन्तरगत बुटवलको चौराहादेखि ड्राइभरटोलसम्म जडान गरिएका सोलार प्यानलका सडक बत्ती असफल भएको देख्दादेख्दै बुटवल उपमहानगरपालिकाले गत आर्थिक वर्षको पुसमा उस्तै प्रकारका सोलार प्यानलसहितका सडक बत्ती नगर क्षेत्रमा जोड्यो । तर जडान गरेको एक वर्ष मात्र पुग्दानपुग्दै एक दर्जन सडक बत्ती निभिसकेका छन् ।
बुटवल उपमहानगरपालिकालाई वार्षिक १७ लाख ३५ हजार रुपैयाँ बिज्ञापन कर तिर्ने गरी एपेक्स नेपाल प्रालि नामको कम्पनीसंग सम्झौता गरि सडकबत्ती जडान गरिएकोे भएपनि गुणस्तरहिन काम भएकाले सडक बत्ती दुई वर्ष पनि नटिकेकोे प्राविधिकहरु बताउँछन् । यो सम्झौता १५ वर्षका लागि गरिएको भएपनि एक वर्षमै असफल देखिएको छ ।
बिज्ञापन लिने र सडकबत्ती निःशुल्क जडान गर्ने सम्झौता अनुरुप बुटवलको चौराहादेखि पारि बुटवल तथा गोलपार्कसम्म १ सय ५० वटा यही प्रकृतिका सडकबत्ती निर्माण गरिएको थियो । यी मध्ये १३ वटा सडक बत्तीहरु निभिसकेका छन् । मिलनचोक क्षेत्रमा ५ वटा, ट्राफिकचोक क्षेत्रमा ३ र नेपालगंज रोडमा ५ वटा पोलमा बत्ती निभिसकेका छन् । एक पोलमा एउटामात्र बत्ती बल्ने प्रविधि अपनाइएको भएपनि यो पनि असफल देखिएको प्राविधिकहरु बताउँछन् ।
उज्यालोको मापन गर्ने विधि यहाँ प्रयोग नै नगरिएको बताइन्छ । बिज्ञका अनुसार अन्तराष्ट्रिय मापदण्डअनुसार राजमार्गहरुमा १० लक्स (मापन विधि) क्षमताका बत्तीहरु जडान गरिनुपर्छ । साना सडकहरुमा पनि न्यूतमन चार लक्स क्षमताका बत्तीहरु चाहिने बताउछन् प्राविधिक क्षेत्रका एकजना बिज्ञ इन्जीनीयर गिरी श्रीस । उनका अनुसार बुटवलमा जोडिएका यी सडकबत्ती दुई लक्स भन्दा माथि छैनन् । श्रीसले भने, ‘यो प्रविधि अनेत्र पनि असफल भइसेको हो तर यहाँ आर्थिक चलखेलका कारण उही खालको गल्ती गरियो ।’ सोलार जडानमा ५० प्रतिशत रकम भ्रष्टाचार भएको श्रीसले बताए ।
बुटवल उपमहानगरपालिकाका कर शाखा प्रमुख दामोदर ज्ञवालीले पनि सडकमा सोलार बत्ती असफल भएको स्वीकारे । उनले भने, ‘सोलार बत्ती असफल देखिएकाले अब एक साईडमा विद्युतकै बत्ती बाल्ने गरी काम अघि बढाएका छौं ।’ एपेक्ससंग विद्युतको महशुल उसैले तिर्ने र उपमहनगरपालिकाले भौतिक निर्माणमा सघाउने गरी सम्झौता गरी काम शुरु गरिसकेको ज्ञवालीको भनाइ छ ।

यसबारेको जिज्ञासामा एपेक्स कम्पनीका ठेकेदार कृष्ण आचार्यले निभेका बत्तीको मर्मत भइरहेको बताए । वाइरिङ्गमा केही समस्या देखिएकाले बत्तीहरु निभेको उहाँको भनाई छ । केही दिनभित्रै मर्मतको काम सकिने उनले बताए ।
चौराहादेखि ड्राइभरटोलसम्मका सोलार बत्ती छ महिना पनि नटिकेपछि यहाँ विद्युतका सडक बत्ती राख्ने काम थालिएको छ । १५ वर्षको सम्झौता गरेर एक वर्षमै असफल भएको यो प्रविधिलाई अझै पनि टालटुल पार्ने प्रयास गरिएको छ । सुरुवातमा नगरले नयाँ प्रविधिबाट बुटवलमा उज्यालो अभियान थालेको भन्दै गौरवपूर्ण भाषण गर्ने नगरप्रमुख शिवराज सुवेदीले अचेल भने उज्यालो अभियानबारे बोल्न छोडेका छन् ।
ट्राफिक नियम विपरित
सडक नजिकमा कुनैपनि भद्दा विज्ञापन गरिनु ट्राफिक नियम विपरित हुन्छ । नियम अनुसार सडकमा यात्रुको ध्यान तान्ने कुनै अश्लिल सामग्री वा आकर्षक कुनै प्रकारको विज्ञापन राख्न पाईदैन् । यस्ता विज्ञापनले सवारी चालक वा पैदल यात्रुको ध्यान आकर्षित गर्दा दुर्घटना हुने भएकाले सडक छेउमा यस्ता विज्ञापन राख्न पाईदैन । तर यसको विपरित उज्यालो शहर बनाउने नाममा कमशल प्रविधिको उपयोग गरेर भद्दा विज्ञापन गरी सडकमा दुर्घटनाको जोखिम बढाएको प्रहरीको ठहर छ । सोलार जडानका बेला उपमहानगरले ट्राफिक प्रहरीसंग कुनै समन्वय र छलफल नगरी पोलमा विज्ञापन गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका तत्कालिन प्रमुख प्रहरी उपरीक्षक गणेश चन्द बताएका थिए ।
तस्विरमा निभिसकेका बुटवल अस्पताललाईनका सडक सोलार बत्ती ।