मंगलापुरमा खुल्यो ६ करोडको बोधी भिल्ला बेङ्क्वेट

271

बुटवल, २६ फागुन । रुपन्देहीको तिलोत्तमा–९ मंगलापुरमा ६ करोड रुपैयां लगानीमा बोधी भिल्ला बेङ्क्वेट सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गसंगै जोडिएको तीन बिघा क्षेत्रफलमा स्थानीय उद्योगी चन्द्रमान श्रेष्ठको परिवारको एकल लगानीमा रुपन्देहीकै ठूलो बेङ्क्वेट सञ्चालनमा आएको हो । फरक शैलीको मल्टि फङ्सनल बेङ्क्वेटमा एकपटकमा पांच हजार जनासम्मलाई सेवा दिन सकिने बोधि भिल्ला प्रालिका प्रबन्ध निर्देशक अनुप श्रेष्ठले बताए ।

‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन थालेको र बुटवल तथा भैरहवा दुबै शहरका सेवाग्राहीका लागि मध्य भागमा सेवा दिने उद्देश्यले जिल्लाकै ठूलो बेङ्क्वेट र रक गार्डेन रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हौं’–श्रेष्ठले भने–‘भविष्यमा सेवा विस्तार गरी ४० बेडको लज र स्वीमिङ पूल पनि सञ्चालन गर्ने लक्ष्यछ ।’ बेङ्क्वेट परिसरमा माछापालन गरिएको पोखरीमाथि पुल बनाएर मनमोहक दृश्य बनाइएको छ । बेङ्क्वेट परिसरमा सागसब्जी खेती र वातावरण संरक्षणका लागि विभिन्न प्रजातिका एकहजार बृक्षरोपण पनि गरिएको छ । ग्राहकले फिशिङ गर्न र जिउंदो माछाको परिकारको स्वाद लिन पाउने व्यवस्था गरिएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।

प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय र आफ्ना ग्राहकलाई बेङ्क्वेट परिसरमा ब्याडमिन्टन र बास्केटबल कोर्ट तथा खेल मैदान निःशुल्करुपमा उपलब्ध गराएको प्रालिका व्यवस्थापक छविलाल थापाले बताए । प्रालिमा हाल ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रालिको रेन्टुरेन्टमा दुबईमा सम्पन्न वल्र्ड सेफ च्याम्पियनसीप २०१६ का विजेता यादव पराजुली मुख्य सेफका रुपमा कार्यरत रहेका छन् । उनी समुद्री खानाका परिकारका लागि प्रख्यात सेफ हुन् । ६ महिनासम्म परीक्षण सेवापछि प्रालिले होली पुर्णिमाको अवसर पारेर मंगलबारदेखि व्यवसायिक रुपमा सेवा सञ्चालन गर्न लागेको हो । बेङ्क्वेटको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले मंगलबार बिहान उद्घाटन गर्ने कार्यक्रम रहेको प्रालिका व्यवस्थापक थापाले जानकारी दिए । उद्घाटनका अवसरमा प्रालिले कोरोना विरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित लाइभ म्युजिक सांस्कृतिक कार्यक्रम समेत राखेको इभेन्ट म्यानेजर आलोक भट्टराईले बताए । सांगीतिक कार्यक्रम निशुल्क प्रवेश र पारिवारिक वातावरणमा बेङ्क्वेट परिसरमा मात्र सीमित हुने उनले बताए ।