निजी जग्गामाथि हाइटेन्सन लाइन जोडिएपछि लफडा

705

भुवन कार्की
बुटवल, २५ फागुन । एक औषधी उद्योगले निजी जग्गामाथिबाट हाईटेन्सन लाइन बिस्तार गरेपछि विबाद सृजना भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १२ स्थित मक्रहरमा स्थानीयको निजी जग्गामामाथिबाट एक उद्योगले बिद्युतको हाईटेन्सन लाईन जोडिदिएपछि स्थानीय चर्को बिरोधमा उत्रिएका हुन् ।
मक्रहरमा रहेको करिब एकबिगाहा क्षेत्रफलमा रहेका घडेरीका मालिकहरुले आफूहरुको सहमतिबिना घर निर्माणमा जोखिम हुने गरी उद्योगले सानो भित्रि बाटोमा ११ केबीको विद्युत लाईन विस्तार गरिएको भन्दै सम्बन्धीत कार्यालयमा बिरोध पत्र समेत बुझाएका छन् । विद्युत बिस्तार गर्ने संकेत पाएपछि गत साउन १६ गते नै मणिग्रामस्थित विद्युतको नयाँमिल बितरण केन्द्रमा विरोध पत्र बुझाएका थिए । तर त्यसलाई अटेर गर्दै कार्यालय प्रमुख कमरआलम खानले १५ दिन अघि बिद्युत बिस्तार गरिदिएपछि स्थानीय जग्गाधनी आन्दोलित भएका छन् । उनीहरुले आफ्नो सहमतिबिना नियमबिपरितका काम गरिएको भन्दै तत्काल विद्युत लाईन हटाउन माग गरेका छन् । हाइटेन्सन नहटाइए प्रतिरोधमा उत्रिने चेतावनी उनीहरुले दिएका छन् ।
कार्यालय प्रमुख खानले राजनीतिक दवाव र आर्थिक प्रलोभनमा परेर उक्त स्थानमा रहेको लाइका फर्मासिष्टकल प्रालिका लागि विद्युत विस्तार गरेको भन्दै उक्त स्थानमा जग्गा खरिद गरेका २८ जना बिरोधमा उत्रिएको जग्गाधनी कृष्णबहादुर जीसीले बताए । जीसीले २८ जनामध्ये आधाजसो जग्गाधनी बिदेशमा रहेको र उहीबाट दिनहुँ चिन्ता ब्यक्त गर्ने गरेको बताए । जीसीसहित मेघनाथ अर्याल, कृष्णप्रसाद बस्याल, बोमबहादुर थापा लगायतले एक बिरोध पत्र सम्बन्धीत विद्युत बितरण केन्द्र र वडा कार्यालयमा बुझाएका छन् ।
बिद्युत विस्तारको लागि सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य हुने भएपनि वडा कार्यालयले भने सिफारिस नदिइएको जनाएको छ । वडा अध्यक्ष सहदेव चौधरीले भने, ‘यसबारे सबै कुरा मलाई थाहा भएन तर यस कार्यालयबाट सिफारिस गरिएको छैन ।’ जग्गाधनीको भने एक निवेदन कार्यालयमा आएको तर आफूले हेर्न नभ्याएको उनले उल्लेख गरे । अध्यक्ष चौधरीले स्थानीयको सहमतिमा विद्युत बिस्तार गरेको भए उचित हुने उल्लेख गरे ।
उता कार्यालय प्रमुख कमरआलम खानले भने विद्युत बिस्तारले स्थानीय जग्गाधनीलाई खासै असर नपर्ने बताए । हाईटेन्सन लाईन देखेर एक जग्गाधनीलाई बैंकले ऋण दिन नमानेपछि विवादले ठूलो रुप लिएको जीसीले बताए । जीसीले भने, ‘खाडीमा पैसा कमाउन गएर किनेका घडेरीवालाले घर बनाउन त के बैंकबाट ऋण समेत नपाउनेभएका छन्, यो भन्दा अन्याय के हुन सक्छ ?’ कार्यालय प्रमुख खानले भने, ‘एकजना श्रेष्ठ थरका सांसदले आग्रह गरेकोले मैले जोडिदिएको हुँ, समझदारीमा त्यसलाई हटाउन पनि सकिन्छ, तर प्राविधिक हिसावले जोखिम नै भयो भन्ने लाग्दैन ।’ ११ केबीको लाइन विस्तार गर्दा पोल पनि मापदण्ड अनुसारका राखिएको छैन् । पुरानै साना पोललाई जोडेर जनतन विद्युत विस्तार गरिएको छ । यो झनै जोखिमयुक्त हुने स्थानीयले बताउँछन् ।
लाईका फर्मासिष्टकल प्रालिका संचालकमध्येका एक सुनील श्रेष्ठले आफूहरुले प्रक्रिया सबै पुर्याएर नै विद्युत बिस्तार गरेको बताए । खाली जग्गा भएकाले जग्गाधनीसंग भने सम्पर्क हुन नसेकेको उनको भनाई छ ।