आफ्नै निर्णय कार्यान्वयन गर्दैन प्रदेश ५ सरकार

188

भुवन कार्की
बुटवल, २२ फागुन । प्रदेश नं. ५ सरकारले आफैले घोषणा गरेका कार्यक्रम पनि लागु गर्न सकेको छैन । विश्वमा नै कोरना भाइरस संक्रमणको चर्चासंगै सतर्कता अपनाउन प्रयास थालिएको छ । नेपाल सरकारले पनि यसबारे उच्च सतर्कता अपनाउन आग्रहसहित विभिन्न निणर्य गरेको छ । सभा, सम्मेलन, मेला महोत्सव आदी नगर्न आग्रह गरिएको छ । पर्यटन मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० नै स्थगित गरेको छ ।
प्रदेश नं. ५ सरकारले पनि कोरना संक्रमणबाट सतर्क रहनुपर्ने भन्दै गत फागुन १९ गते निर्णय नै सार्वजनिक गरेर सभा, समारोह, मेला, महोत्सव कुनै पनि भिडभाडजन्य कार्यक्रम नगर्ने नगराउने बतायो । प्रदेश सरकारको निर्णय सार्वजनिक भएसंगै प्रदेशभित्रका धेरै स्थानीय तहले समेत सभा, समारोह, मेला, महोत्सव नगर्ने निर्णय गरे र तय गरेका कार्यक्रम समेत स्थगित गरे । कोरनाका कारण हात नमिलाउने र नमस्ते गर्ने अभियान समेत संचालन हुँन थालेका छन् ।
तर प्रदेश सरकारकै सहयोगमा बुटवलमा आयोजना गरिएको प्रथम प्रादेशिक लघु घरेलु तथा कृषि, व्यापार एवं पर्यटन महोत्सव २०७६ भने फागुन २१ गतेदेखि संचालन गरिएको छ । प्रदेश नं. ५ सरकारले सहयोग गरेको यो महोत्सवलाई रोक्ने प्रयास भने गरिएन । प्रदेश सरकारको निर्णय कुरेर बसेका धेरै स्थानीय तहले पूर्व निर्धारित कार्यक्रम समेत स्थगित गरेपनि यो महोत्सव स्थगित गरिएन । प्रदेश सरकारका प्रमुखहरुसंग नजिक रहेर काम गर्ने संघ संस्थाहरुले यस्तो सहयोग पाउने गरेका छन् । प्रदेश महिला उद्यमी समिति र नेपाल घरेलु तथा साना उद्योग महासंघले बुटवलको देविनगरमा संचालन गरेको यो महोत्सव धुमधाम रुपमा संचालनमा छ । एकै दिन दर्जनौ कलाकारले प्रस्तुति दिने महोत्सवमा हजारौं दर्शक अवलोकनका लागि जाने गरेका छन् ।
प्रदेश ५ सकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विषेश सहगोगी रहेका यो महोत्सवले प्रदेश ५ सरकारको निर्णयको खिल्ली भने उडाएको छ । कोरनाको सर्तकता उपनाउन भन्दै आफै सभा समारोह रोक्न निर्देश गर्ने तर आफैले नियम पालना नगर्ने प्रदेश ५ सरकारको यो कदमको टिप्पणी सर्वधारणले पनि गर्ने गरेका छन् ।
हाल प्रदेश सरकरका केही मन्त्रालयका कार्यक्रमहरु सीमीत ब्यक्ति तथा संस्थाका ठेकेदारीमा चलेका छन् । चाकडी र चाप्लुसी गर्न नसक्ने व्यक्ति वा संस्थासंग यी मन्त्रालयको सहकार्य हुँदैन । भजनमण्डलीका रुपमा चिनिएका ब्यक्ति तथा संस्थालाई सहयोग गर्ने गरी यस्ता कार्यक्रमहरु गरिने गरेका छन् । हिमचिममा रहेका आफ्नै कार्यकर्ताका बिज्ञापन एजेन्सीले यस्ता कार्यक्रममा प्रचारको ठेक्का लिने गरेका छन् ।
आयोजक संस्था प्रदेश महिला उद्यमी समितिका अध्यक्ष शान्ति शर्माले कार्यक्रम स्थगनबारे प्रदेश सरकारको कुनै जानकारी नआएको र पूर्व निर्धारित कार्यक्रम भएकाले महोत्सव संचालन गरिएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘महोत्वको ६० लाख खर्च छ, त्यो प्रदेश सरकारले ब्यहोर्छ भने हामी स्थगन गर्न तयार छौं ।’
यसबारेको जिज्ञासाको लागि सम्पर्क गर्न खोज्दा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीसंग भने सम्पर्क हुन सकेन । पटक—पटकको प्रयासमा पनि असफल भयो ।
प्रदेश नं. ५ को नामाकरण र स्थायी राजधानी तोक्ने रस्साकस्सीमा मुख्यमन्त्री तथा मन्त्रीहरु ब्यस्त भएको बताइन्छ । स्रोतका अनुसार स्थायी राजधानी दाङ लैजान कम्मर कसिरहेका मुख्यमन्त्री शंकर पोखरेललाई अन्य केही मन्त्रीले पनि साथ दिन थालेका छन् । यद्देपि स्थायी राजधानीको विषय पेचिलो बन्दै गएको छ ।