बुटवलका ४० हजार घरको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ 

371

 

फागुन ४ । बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घर नम्बरिङ गरेको छ । विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्दै पूरा भएका घरमा नम्बर टाँस्ने कामसमेत सुरु भइसकेको छ । बुटवल उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा प्रमुख शिवराज सुवेदीले ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरको नम्बर प्लेट टाँसेर सुभारम्भ गर्नुभयो । बुटवल वडा नं। ८ राजमार्ग चौरहास्थित प्रहरी सपिङ कम्प्लेक्समा ‘ए००२’ २०५६ नम्बरको निलो टिनको नम्बर कार्ड टाँस्दै नम्बरिङको शुभारम्भ गर्नुभयो । त्यसअवसरमा प्रमुख सुवेदीले उपमहानगरको वस्तुगत विवरणसंगै प्रत्येक घरको डिजिटल प्रविधिबाट नम्बरिङले योजना तर्जमा, कार्यान्वयन र थप अध्यय्नका लागि उपयोगी हुने बताउनुभयो । उपमहानगर भित्रका घरलाई व्यवस्थित बनाउन र नम्बरबाटै पहिचान हुने बनाउन आधुनिक हिसाबले घर नम्बरिङ गरिएको प्रमुख सुवेदीको भनाइ छ । सेवाग्राहीलाई प्रवाह गरिने सेवा, उपमहानगरका सेवाकेन्द्रहरु, सार्वजनिक क्षेत्र, सडक, विद्यालदेखि वन क्षेत्र र ती स्थानदेखि आफ्नो घर कहाँनिर पर्छ भनेर हेर्न मिल्नेगरि ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको प्रमुख सुवेदीले बताउनुभयो । उपमहानगरमा निर्वाचित भएपछि गरिएको पहिलो निर्णय मध्येको यो अर्को उपलव्धि हो । नीति तथा कार्यक्रममै यसलाई समावेश गरेर व्यवस्थित रुपमा कार्यसम्पादन गर्नेमा पनि बुटवल मै मुलुकमा पहिलो मानिएको छ । मोबाइल एपमार्फत उपमहानगरका सेवाप्रवाहको जानकारी लिने र ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गर्ने भन्दै पहिलो निर्णय गरिएको थियो । भौगोलिक अध्यय्नका विज्ञहरुसम्मिलित परामर्शदाता छनौट गर्दै १ देखि ११ वडाका सबै घरको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ पूरा गरिएको हो । अहिले काम पूरा भएका वडाहरु उपमहानगरमा सबैभन्दा धेरैजनशंख्या रहेका हुन् । अब दोस्रो चरणमा वडा नं। १२ देखि १९ मा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ सुरु गरिने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ भएको र कर पनि वडा कार्यालयबाटै तिर्ने व्यवस्था मिलाइएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बुटवल उपमहानगरपालिकालाई प्रबिधिमैत्री बनाउन अग्रसर भइरहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाको वडानम्बर ६, ७ र ८ नम्बर वडाका घरहरुमा नम्बर प्लेट टाँसिएको छ । अहिलेसम्मकै आधुनिक वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ गरिएपछि अब कुन घर कुन रोडको कति नम्बरमा पर्छ भन्ने जानकारी जीपीआरएस सिस्टमबाट थाहा पाउन सकिने छ । डिजिटल नम्बरिङपछि बारुण यन्त्र, एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका कामहरुमा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्नेगरि भौगोलिक सूचना प्रणालीको विकास गरिएको उपमहानगरले जनाएको छ । सेवाग्राहीलाई सघाउन जनप्रतिनिधि सहयोग कक्ष स्थानीय सरकारमा सेवा लिन आउने कुनै पनि सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएको छ । जनप्रतिनिधि नै नियमित रुपमा सेवादेहीका रुपमा रहनेगरी तयार पारिएको यस्तो कक्ष मुलुकमै पहिलो हो । खासगरी भवन निर्माण, घर–नक्सासम्बन्धी काम र पूर्वाधार विकासका कामहरुमा सेवाग्राहीलाई सहयोग गर्ने छ । नेपाली भाषामा लागत स्टीमेट बुटवलको विकासमा जनसहभागिता उदाहरणीय मानिन्छ । उपभोक्ता समितिमार्फत हुँदै आएका पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन बुटवलले नेपाली भाषामै लागत स्टीमेट बनाउन सुरु गरेको छ । यो काम प्रदेशमै पहिलो हो । प्राविधिक भाषाले अलमलमा पर्ने, प्रक्रियाहरु नबुझ्दा झन्झट मान्ने जस्ता समस्या देखिएपछि नगर प्रमुखले नै उपभोक्ता समितिका कामलाई प्रभावकारीसंगै गुणस्तरीय बनाउने यस्तो उपाय सुरु गर्न प्राविधिकहरुलाई निर्देशन दिनुभएको थियो । बुटवलमा १९ वटै वडाहरुमा नेपाली भाषामा लागत स्टीमेट तयार पारेर धमाधम काम भइरहेका छन् । चालु आवमा मात्रै झण्डै पाँच सय योजनाहरु नेपालीमा लागत स्टीमेट तयार पारेर उपभोक्ता समितिमार्फत भइरहेको उपहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उहाँले यस्ले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाएको दाबी गर्नुभयो । इबीपीएस सुरु गर्ने उपत्यका पछिको पहिलो बुटवल बुटवल उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टममा भवनहरुको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको छ । गत वर्ष वैशाख १ गतेदेखि यस्तो प्रणाली सुरु गर्ने बुटवल उपत्यका बाहिरको पहिलो नगर हो । यस प्रणाली अन्तर्गत हालसम्म दुई सात सय ७६ नक्सा दर्ता भएको र झण्डै एक हजार पाँच सय जनाले सम्पन्न प्रमाणपत्र लिइसकेको वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिनुभयो । घरनक्सा पासको टाइम कार्ड लागू बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएलगत्तै लामो समयदेखि रोकिएका नगरबासीका घरनक्साका कामहरुलाई फटाफट गरेन मात्रै वडा र टोलसम्मै पुगेर सेवाग्राहीलाई प्रमाणपत्र उपलव्ध गरायो । भवन संहीताको पूर्ण कार्यान्वयनमा जोड दिंदै जनप्रनिधिले प्राविधिकहरुलाई वडावडामै लगेर सुरु गरेको यो काम पनि मुलुकमै नमुना मानिएको छ । यस्तै बुटवलले सेवाग्राहीका लागि घरनक्सा पास सम्बन्धी विशेष जानकारी पुस्तिकासहितको टाइम कार्डसमेत लागु गरेको छ । यहाँका १९ वटै वडामा घर बनाउने कुनै पनि सेवाग्राहीलाई आफुले पालना गर्नुपर्ने नियम र भवनसंहीताको मापदण्डका सबै प्रक्रियाका बारेमा पूर्ण जानकारीसहितको पुस्तिका उपलव्ध गराइएको छ ।