सैनामैना जेसीजलाई २४ घण्टे अल्टीमेटम, दुई उपाध्यक्ष पनि बाहिरिए

790

भुवन कार्की
बुटवल, १६ माघ । सैनामैना जेसिजमा भएको चौंथो अधिवेशनलाई लिएर फेरि लफडा शुरु भएको छ । राजनीतिक आस्थाका आधारमा नेपाली काँग्रेस निकटका जेसिज पदाधिकारीले नेकपा निकटका पदाधिकारीलाई बायस गरी एकलौटी निर्वाचन प्रक्रिया पुरा गरेपछि विवाद चुलिएको हो ।
वर्ष सन् २०२० को नेतृत्वको लागि गत वर्ष नै सहमति कायम भएको भएपनि त्यो कार्यान्वयन नभएपछि विवाद भएको बताइएको छ । वर्ष सन् २०२० का अध्यक्षका प्रत्यासी दिपक अधिकारीसहित १८ जनाले गत माघ ११ गते गराइएको निर्वाचनलाई बदर गराउन भन्दै विहीबार २४ घण्टे अल्टीमेटम दिएका छन् । वर्ष सन् २०१९ का अध्यक्ष सुवास पौडेललाई दिइएको अल्टीमेटममा २४ घण्टाभित्र निर्वाचन बदर गरी पुरानो सहमति कार्यान्वयन नगरे नेपाल जेसीजमा मुद्दा हालेर कानुनी उपचार खोजीने उल्लेख गरिएको छ । अध्यक्षका प्रत्यासी अधिकारीसहित दिपेन्द्र सुवेदी, गोविन्द खेरेल, भेषराज भण्डारी, सागर पन्थलगायतका १८ जनाले विहीबार अल्टीमेटम दिएका हुन् ।
त्यस्तै नयाँ कार्यसमितिमा उपाध्यक्षमा चयन गरिएका सुरज भट्टराई र अमरराज खरेलले पनि सहमतिबिना निर्वाचन प्रक्रिया थालिएको भन्दै आफूहरुले उक्त पद छोडेको बताएका छन् । एक विज्ञप्ति जारी गरी उनीहरुले पुरानो सहमति कार्यान्वयन नगरिएकाले आफूहरुले उक्त पद छोडेको बताएका छन् । भट्टराई वर्ष २०१९ का सहकोषाध्यक्ष र खरेल सचिव हुन् । उनीहरुले निर्वाचन आयुक्तलाई पत्र लेखेर आफूहरु उक्त पदमा नरहेको जानकारी गराएका छन् ।