आधा कार्यकाल सफल भयो : नगरप्रमुख घिमिरे

344

भुवन कार्की
रुपन्देही, पुस २१ गते । गत असोज ९ गते काठमाडौंबाहिर पहिलो पटक लगानी सम्मेलन गरेर धेरै चर्चा कमाएको तिलोत्तमा नगरपालिकाले आधा कार्यकाल सफल भएको बताएको छ ।
लगानी सम्मेलनमार्फत धेरै क्षेत्रमा लगानी भित्र्याउने प्रयास थालेकोे नगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरी वितेको ३० महिनाको समयमा भएका काम जनअपेक्षा अनुसारनै भएको बताएको हो । नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएको आधा कार्यकाल सफल भएको दावी गरेको छ । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले समृद्ध नगर ः खुसी जनता भन्ने आफूहरुको नारा हालसम्म सफल रहेको दाबी गर्नुभयो । बाँकी ३० महिनाको कार्यकालभित्र बाँकी रहेका काम पुरा गर्ने प्रतिबद्धता पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले निर्वाचनका बेला प्रतिबद्धता गरेका काम बाँकी ३० महिनामा पुरा गर्नेछौं, हालसम्मको कामबाट नगरबासी सन्तुष्ट भएको पाएका छौं ।’
मध्यावति कामको मूल्याङकनमा आफूहरु सफल नै रहेको बताउँदै नगरप्रमुख घिमिरेले नगरपालिकाले विभिन्न क्षेत्रमा नयाँ कामको थालनी गरेको उल्लेख गर्नुभयो । ५० वटा भन्दा वढी नीति तथा कानुन बनाएर १५ वर्षसम्मको दीर्घकालिन रणनीति नगरपालिकाले तयार गरेको उहाँले चर्चा गर्नुभयो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यातायात तथा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा नगरपालिकाले उल्लेख्य कामहरु गरेको भन्दै दीर्घकालिन रणनीतिका कामहरु पनि प्रारम्भ भएको गरिएको उहाँको भनाई छ । शिक्षाको क्षेत्रमा धेरै नयाँ काम थालिएको उहाँले बताउनुभयो । नगरप्रमुखको पारिश्रमिकबाट छात्रावृति वितरण, सामुदायिक विद्यालयहरुमा दिवा खाजाको व्यवस्था, विद्यालयहरुमा विद्युतीय हाजिरी, निःशुल्क सेनेटरी प्याडको व्यवस्था जस्ता काम नगरपालिकाले गरेको उहाँले चर्चा गर्नुभयो ।
त्यस्तै किसानलाई गहँुको बिउमा ४० प्रतिशत अनुदान, पशुपालक किसानलाई दुधमा प्रतिलिटर एक रुपैयाँ अनुदान जस्ता कामले सकारात्मक प्रभाव पारेको घिमिरेको भनाई छ । ग्रिन तिलोत्तमा ः क्लीन तिलोत्तोमा नामको अभियान थालेर हरेक महिनाको ५ र १५ गते सरसफाई अभियान जारी राखेको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै शुन्य पोलिथिनयुक्त अभिायान संचालन गरेर नगरलाई प्लास्टिकजन्य फोहरमुक्त नगर बनाउने अभियान पनि जारी रहेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगरपालिकाले गत असोज ९ गते आयोजना गरेको लगानी सम्मेलनपछि विभिन्न क्षेत्रमा लागनी हुन थालेको र लगानीकर्ताको उत्साह पनि बढेको बताउनुभयो । नगरपालिकाले कैयौं भौतिक पूर्वाधार निर्माणका काम शुरु गरेको उहाँले बताउनुभयो । जेष्ठ नगारिक मिलन केन्द्र स्थापना, भ्यूटावर निर्माण, होमस्टे संचालन जस्ता कामको शुरुवात गरिएको प्रवक्ता श्रीले उल्लेख गर्नुभयो ।