अख्तियारको फन्दामा पर्दै सीमाका घुमुवा प्रहरी

257

एकै दिन समातीए इन्स्पेक्टर र हवल्दार
भुवन कार्की
रुपन्देही, ११ पुस । सीमा क्षेत्रका घुमुवा प्रहरीले भारतबाट अवैध रुपमा सामान भित्र्याउने व्यापारी तथा एजेन्टहरुसंग महिनावारी रकम असुल्ने गरेको समाचार प्रकाशित भएपछि उनीहरु अख्तियारको फन्दामा पर्न थालेका छन् ।
सीमा क्षेत्रमा सादा पोशाकमा खटिने घुमुवा सशस्त्र प्रहरीले ती एजेन्ट तथा तस्करहरुसंग महिनावारी रकम लिएर उनीहरुलाई कारोवार गर्न छुट दिने गरेको तथ्य सार्वजनिक भएपछि सीमा क्षेत्रमा अख्तियारका कर्मचारीले पनि निगरानी बढाएका हुन् ।
सीमा क्षेत्रमा अबैध कारोवारीसंंग घुस लिने क्रममा अख्तियार कार्यालय बुटवलले बिहीबार सशस्त्रका दुई जना प्रहरीलाई रंगेहात पक्राउ गरेको कार्यालयका सूचना अधिकारी सुरेश भूसालले जानकारी दिए । डोटी घर भई हाल रुपन्देहीको सुरक्षा बेस विष्णुपुरामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) तेजबहादुर जोरा र रुपन्देहीमै घर भई सोही कार्यालयमा कार्यरत सशस्त्र प्रहरी हवल्दार बिरेन्द्रप्रसाद चौधरी अख्तियारको फन्दामा परेका हुन् । इन्स्पेक्टर जोरा राजश्व चुहावट नियन्त्रण गुल्म बेलबास दरबन्दी रहेका प्रहरी हुन् । यी दुई प्रहरीले अबैध कारोवार गर्ने रुपन्देहीको गैडहवाका एक स्थानीयसंग ६ हजार घुस लिंदैगर्दा पक्राउ परेका हुन् । रंगेहात पक्राउ परेका हवल्दारले इन्स्पेक्टर जोरालाई पनि पोलेपछि उनी पनि समातीएका हुन् ।
रुपन्देहीको २७ नं. गण भैरहवाका अन्तरगत यी कार्यालय रहने गर्दछन् । यो गण र डण्डा चेकपोष्टमा कार्यरत घुमुवा सशस्त्रले सीमा क्षेत्रमा आतंक नै मच्चाएका छन् । पुराना र अनुभवी घुमुवा प्रहरी राखेर कार्यालय प्रमुखहरुले नै यस्तो सेटिङ मिलाउने गरेको प्रहरी स्रोतको दावी छ ।
यसअघि सशस्त्रका एक घुमुवा तारा थापाले स्थानीय कुखुरा व्यापारी संसोद्धिन खानसंग गत मंसिर १२ गते मासिक १५ हजारका दरले लाइन मिलाउने गरी पहिलो किस्ता बुझेका थिए ।
सशस्त्र प्रहरी बल २७ नं. गण भैरहवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त बोगटीले आफ्नो कार्यालयका प्रहरीबाट त्यस्तो काम गरेको पाइए विभागीय कारवाही हुने बताउँछन् ।
हाल सशस्त्र प्रहरीमा घुमुवा राख्ने व्यवस्था हटाइएको भएपनि कार्यालय प्रमुखहरुको चाहनामा राखिएका घुमुवा प्रहरीले यसरी ‘लाइन मिलाउने’ गरेका छन् । प्रहरी स्रोतका अनुसार रुपन्देहीको मर्चवार, डण्डा, सेज क्षेत्र, लुम्बिनी, एयरपोर्ट पछाडि, करौता क्षेत्र, गैडहवा, गल्लामण्डी, अमवा नाका, सेमरपानी, भगवानपुर, बुचीवर्मा, कालिदह, मुग्ला लगायतका सीमा क्षेत्रमा यी सादा पोशाकका प्रहरीहरु परिचालित छन् ।
यी नाकाबाट कपडा, खसीबोका, कुखुरा, भैसी, मटर, केराउ, मलखाद जस्ता सामग्री नेपाल भित्रिने र गाइगोरु, मरिच, सुपारी आदी भारत निकासी हुने गरेको बताइन्छ ।