बुटवल सडकमानवमुक्त नगर घोषणा

326

भुवन कार्की
रुपन्देही, पुस ५ गते । यहाँको बुटवल उपमहानगरपालिकालाई सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ । शनिबार एक भब्य कार्यक्रमको आयोजना गरी बेसहरा सहयोगापेक्षी सडकमानवमुक्त नगर घोषणा गरिएको हो ।
सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा कार्यान्वयनको सुनिश्चितताका लागि बुटवल उपमहानगरपालिका, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय र मानवसेवा आश्रम तथा नगरवासीहरुले प्रतिबद्धतामा हस्ताक्षर गरेर हस्ताक्षर आदानप्रदान समेत गरे ।
सडकपेटी र सार्वजनिकस्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको हो ।
कार्यक्रममा प्रदेश नम्बर ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बुटवललाई सडक मानवमुक्त घोषणा गरेर बेसहारा मानवमुक्त सडक बनाउने अभियान सफल पार्नु प्रसंशनीय कार्य भएको बताउनभुयो । योे अभियानले सकारात्मक सन्देश दिएको उहाँको भनाई थियो ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले नगर सरकारले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताउनुभयो । सामाजिक विकासमन्त्री सुर्दशन बरालले प्रदेशलाई नै सडक मानवमुक्त बनाउने अभियान थालिने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, फकरुद्धिन खान, जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालगायतले गौतमबुद्धको भूमि मानवताको शहरको रूपमा विकसित हँुदै गएको बताउनुभयो । उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त घोषणा गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अबका दिनमा बुटवलको सडकमा कुनै पनि व्यक्तिले जीवनयापन गर्नु नपर्ने प्रतिबद्धता जनाउनुभयो ।