जिल्ला कारागार बाँकेमा तनाव

476

लक्ष्मी तिमिल्सेना

बाँके कात्तिक १४ । जिल्ला कारागार बाँकेमा यतिबेला तनाव उत्पन्न भएको छ । कारागाारमा रहेका ७ सय ७२ जना कैदीबन्दी र थुनुवाहरुले आफुहरुमाथि ज्यादती गरेको आरोप लगाएका छन । कारागारका जेलर, चौकिदार र नाईकेहरुले अनावश्यक दुख दिएको उनिहरुले बताएका छन । कारागार भित्र चौकिदार भरत फडेरा र नाईके मानबहादुर शाहीले विभिन्न बाहानामा आफुहरुबाट पैसा असुल गर्ने गरेको आरोप लगाउदै उनीहरुले आन्दोलन गरेका हुन् । कारागारभित्र चौकीदार फडेरा नाइके शाहीले कारागारका कैदीबन्दीमाथि चरम आर्थिक शोषण गर्ने गरेको उनीहरूको आरोप छ । कारागार भित्रका यस्ता गतिविधि जेलर भरतराज पाण्डेको निर्देशनमा हुने गरेको कैदीबन्दीहरुको दावि छ । कैदीबन्दीहरुले कारगारका चौकीदार फडेरा र नाइके शाहीलाई बाहिर राखेर भित्रबाट विहीबार तालाबन्दी गरेका छन । जेलर, चौकिदार र नाईकेको सरुवा गर्नुपर्ने माग राख्दै आफुहरुले आन्दोलन गरिरहेको कैदीबन्दीले बताएकाछन् । जेलर भरतराज पाण्डेले १५ लाख रूपैयाँ घुस खाएको आरोप समेत उनीहरूले लगाएका छन् । बाँके कारागारका जेलर पाण्डेले १५ लाख घुस खाएर फडेरालाई चौकीदार बनाएको कैदीबन्दीहरुको आरोप छ । साथै चौकिदार फडेराले चौकीदार बन्न घुस दिएको उक्त पैसा आफुहरुबाट असुल गर्न खोजेको आरोप समेत उनिहरुले लगाएका छन् । बिहीबार विहान बाट कैदीबन्दी र थुनुवाहरुले चौकिदार फडेरा र नाईके शाहीलाई बाहिर राखेर भित्रबाट ताला बन्द गरि शान्तिपुर्ण आन्दोलन गरिरहेका छन् । यता प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जेलर पाण्डे विदामा भएको र उनि फर्के लगत्तै उक्त समस्या समाधान हुने बताए । जेलर पाण्डेलाई बिहीबार नै हाजिर हुने ताकेता गरीएको समेत उनले जानकारी दिए । यस्तै केहि कैदीबन्दीहरुको सानो समूहले कारागारका नाइके परिवर्तन गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको बाँके कारागारका जेलर पाण्डे बताउछन । साथै उनले आफूमाथि कैदबन्दीले लगाएको आरोप निराधार भएको बताएका छन् ।