मौलिक इतिहास बोकेको रामलिला शुरु

312

लक्ष्मी तिमिल्सेना
बाँके, असोज १३ । नेपालगन्जको मौलिक इतिहास बोकेको रामलिला सुरु भएको छ । विजयादशमीमा नेपालगन्जमा आयोजना हुने रामलिला १ सय ५२ बर्षमा प्रवेश गरेको छ । भारत उत्तर प्रदेशबाट लाखौं श्रद्धालुहरु यसअवधिमा रामलिला दर्शन गर्न आउँछन् । भगवान श्रीराम र सीताको जीवन लीलालाई वृन्दावनबाट आएका भारतीय कलारकाहरुले घटस्थापनाको दिनदेखि दसैंको भोलीपल्टसम्म रामलिला प्रस्तुत गर्ने गर्छन् ।

आइतवार साँझ नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यलगायतको उपस्थितिमा रामलिला मञ्चन सुरु भएको रामलीला सन्चालक समितिका सहमहामन्त्री विष्णुलाल कुमालले बताउनुभयो । उहाँले मुलुककै पहिलो नागरिक संस्थाका रुपमा समितिले रामलिला एतिहासिक विरासत थामिरहेको बताउनुभयो । नेपालगन्जको मौलिक इतिहास बोकेको रामलिलालाई यहाँका स्थानीय अवध समुदायले धान्दै आएका छन् । सन् १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुदै आएको यो कला नेपालीमाझ जति परिचित छ त्योभन्दा बढ्ता भारतीयहरुबीच लोकप्रिय छ ।
भारतको उत्तरप्रदेशबाट समेत लाखौं श्रद्धालुहरु यस अवधिमा रामलीला दर्शनका लागि आउने गरेका छन् । पछिल्लो समय नयाँ पुस्ताले आफ्नो परम्परागत संस्कार भुल्दै गइरहेका बेला नेपालगन्जका रैथाने मधेसी समुदायले भने रामलीलाको संस्कार जोगाउन सफल भएको यहाँका सरोकारवालाको भनाई छ ।