दुई अर्ब लागनी जुटाउन लगानी सम्मेलन गरिंदै

410

भुवन कार्की
रुपन्देही, साउन २४ । यहाँको तिलोत्तमा नगरपालिकाले आगामी असोज ९ गते वृहत लगानी सम्मेलन गर्ने भएको छ । तिलोत्तमामा कृषि, उद्योग, पर्यटन, ब्यापार लागयतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उदेश्यसहित तिलोत्तमाले लगानी सम्मेलन गर्न लागेको हो
शुक्रबार नगरपालिकाले पत्रकार सम्मेलन गरेर विभिन्न १९ वटा क्षेत्रमा लगानी भित्र्याउने गरी लगानी सम्मेलन गर्न लागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख बासुदेव घिमिरेले भन्नुभयो, ‘यो सम्मेलन लागनी जुटाउने अफैमा एउटा उत्सव हो, डेढ दर्जन परियोजना लिएर लगानी सम्मेलन गर्दैछौं ।’
१९ वटा परियोजना लिएर यो सम्मेलन गर्न लागेको नगरपालिकाले दुई अर्ब रुपैयाँ लगानी जुटाउने लक्ष्य लिएको नगर प्रमुख घिमिरेले बताउनुभयो । आर्थिक क्रियाकलापको बढोत्तरीले यहाँको अर्थतन्त्रमा समेत टेवा पुग्ने भन्दै यसको प्रत्यक्ष अप्रत्यक्ष फाईदा नगरबासीलाई हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो । स्वदेशी, विदेशी, निजी तथा विकास साझेदारी संस्थाहरुको लगानी भित्र्याउन यो सम्मेलन बहुउपयोगी हुने नगरपालिकाले विश्वास लिएको छ ।
लगानीको प्रशासनिक तथा कानुनी बाटो के हो, लागनी सम्बन्धी स्थानीय सरकारको दृष्टिकोण, परियोजना कार्यान्वयन गरिंदा पर्ने समस्या र हल गर्ने उपाय के हुन् भन्नेबारे सम्पूर्ण जानकारी सम्मेलनले दिने नगर प्रमुख घिमिरेले उल्लेख गर्नुभयो । यो सम्मेलन लगानीसंग सम्बन्धीत सबै पक्षको भेटघाट र नेटवर्किङको साझा थलो हुने पनि उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
यो सम्मेलनका लागि ३० लाख खर्च हुने नगरपालिकाले जनाएको छ । त्यसमध्ये २० लाख नगरपालिकाले बिनियोजन गरेको र १० लाख निजी क्षेत्रबाट जुटाउने लक्ष्य लिइएको छ । संघीय, प्रदेश सरकारका मन्त्री तथा सांसदहरु, स्थानीय तहका प्रतिनिधि, नेपाल सरकारका उच्चपदस्थ प्रतिनिधि, स्वदेशी तथा विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, गैरवासीय नेपाली तथा विदेशी लगानीकर्ता गरी करिब पाँच सय जनाको सहभागिता रहने सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले गर्ने नगरपालिकाले जनाएको छ ।
लगानी सम्मेलनको लागि एक मूल समिति तथा विभिन्न १९ वटा उपसमिति बनाएर तयारीका काम थालिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।