बुद्ध सर्किटको लागि गुरुयोजना बनाउदैछौं : मन्त्री भट्टराई

333

रुपन्देही, साउन २३ गते । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले लुम्बिनीसंग सम्बन्धीत सबै क्षेत्र समेटेर बुद्धकालिन सभ्यतासहितको बुद्ध सर्किट बनाउन लागिएको बताउनुभएको छ ।
लुम्बिनीमा पर्यटक आवागमनमा वृद्धि हुने गरी विस्तृत अध्ययनसहित बुद्ध सर्किट बनाउन गुरुयोजनाको तयारीमा सरकार लागेको उहाँले बताउनुभयो ।
प्रेस संगठन रुपन्देहीले विहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भन्नुभयो, ‘बुद्ध सर्किटमा यससंग सम्बन्धीत क्षेत्रलाई जोडिनेछ, लुम्बिनी र बुद्धलाई अध्ययन गर्न आउनेहरु यहाँ महिनौ बस्नेछन् ।’
मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पुरा हुने विश्वास ब्यक्त गर्दै त्यसका लागि विदेशमा बस्ने नेपालीले पनि पर्यटक पठाएर सहयोग गर्नुपर्ने बताउनुभयो । धेरै पर्यटक पठाउने विदेशमा बस्ने नेपालीलाई सरकारले गर्नसक्ने सहयोग समेत घोषणा गर्ने तयारी सरकारले गरेको पनि उहाँको भनाई थियो ।
मन्त्री भट्टराईले अर्को डिसेम्बर ३० सम्ममा भैरहवाको अन्तराष्ट्रिय विमान स्थल सञ्चालनमा आउने ठोकुवा गर्दै मन्त्रालयको पहिलो प्राथमिकता यसैमा रहेको उल्लेख गर्नुभयो । यो विमानस्थल निर्माणको काम छिटो सक्न प्रधानमन्त्रीले समेत चासो दिएको उहाँको भनाई थियो ।
कार्यक्रम प्रेस संगठन नेपाल रुपन्देहीका अमृत गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
मन्त्री भट्टराईले विहीबारै उक्त विमानस्थल र बुद्धकालिन सभ्यतासंग जोडिएका नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह, सैनामैना तथा कपिलबस्तुको तिलौराकोटको अवलोकन गर्नुभएको छ ।